काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्धझैं जेनजी विद्रोह पनि तुहिने खतरा बढेको चेतावनी दिएका छन्।सर्वपक्षीय अन्तरिम सरकारको मागसहित काठमाडौंमा आयोजित प्रदर्शनपश्चात् भएको सभामा बोल्दै विप्लवले जनताको वास्तविक परिवर्तनका लागि लडिएको जनयुद्ध अधुरो रहँदा अहिलेको जेनजी आन्दोलन पनि असफलतामुखी हुने खतरा देखिएको बताए।
उनले भने, “हामीले जनताको मुक्ति र परिवर्तनका लागि लड्यौं, तर जनयुद्ध बीचमै तुहियो। अहिलेको जेनजी विद्रोह पनि त्यसैगरी तुहिने संकेत देखिँदैछ। यदि नयाँ पुस्ताले तुरुन्तै संगठित कदम चाल्न सकेन भने, यो आन्दोलन जनयुद्धभन्दा पनि खराब स्थितिमा पुग्न सक्छ।”
विप्लवले शासकहरूको अहंकार र भ्रष्टाचारकै कारण जेनजी विद्रोह विस्फोट भएको दाबी गरे। उनका अनुसार, “जब भ्रष्ट शासकहरूले जनताको आवाज नसुने, राज्यसत्ताको दम्भमा मनपरी गर्न थाले, तब युवाहरूले विद्रोह गर्न बाध्य भए।”
उनले जेनजी आन्दोलन कुनै दलको नेतृत्वमा नभएको भन्दै “पार्टीहरूले गर्न नसकेको काम जेनजीहरूले गरेका छन्, त्यसका लागि उनीहरू धन्यवादका पात्र छन्” भने।जेनजी विद्रोहले मुलुक नयाँ मोडमा प्रवेश गरेको बताउँदै विप्लवले संसदीय व्यवस्था असफल भइसकेको टिप्पणी गरे। उनले भने, “भ्रष्टाचारको अन्त्य, संसदको विघटन, नयाँ संविधानको पुनर्लेखन र प्रत्यक्ष कार्यकारीको निर्वाचनको मागसहित जेनजीहरूले उठाएका मुद्दा हाम्रो पार्टीले पनि पहिलो दिनदेखि समर्थन गरेको हो।”
तर, आन्दोलनका दुई दिनपछि बनेको अन्तरिम सरकार हेर्दा जेनजी विद्रोह तुहिनेतर्फ गएको उनको आरोप छ।विप्लवले माओवादी जनयुद्धपछिको परिवर्तनलाई “दलाल शक्तिहरूले कब्जा गरेको” भन्दै अहिले पनि विदेशी प्रभाव र राज्य संयन्त्रको प्रयोगमार्फत जनआन्दोलन दबाउन खोजिएको बताए। उनले अन्त्यमा जेनजी युवाहरूप्रति आह्वान गर्दै भने, “अबको लडाइँ विचार, संगठन र रणनीतिक संयमको हो। यदि युवाहरू एकजुट र योजनाबद्ध भएर अघि बढे, यो आन्दोलनले इतिहास मोड्न सक्छ।”