काठमाडौं । सुनसरीमा रहेको रिलायन्स स्पिनिङ मिल्सले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको विद्युत्को बक्यौता शुल्कको पहिलो किस्ता भुक्तानी गरेको छ ।
बिहीबार कम्पनीले प्रिमियम महसुलको बक्यौता तिरेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । सो कम्पनीले ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता तिर्नुपर्नेछ । किस्ता सुविधा दिएकाले पहिलो किस्तास्वरुप दुई करोड ७७ लाख रुपैयाँ तिरेको हो ।
प्राधिकरणले बक्यौता तिर्न उद्योगहरुलाई २८ किस्ता विभाजन गरी तिर्ने सुविधा दिएको छ । पहिलो किस्ता तिरेपछि रिलायन्सको बिच्छेद गरिएको विद्युत लाइन जडान गरिएको पनि प्राधिकरणले उल्लेख गरेको छ । रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो ।