काठमाडौं । लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ । लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि सिंहलाई मेन्टरमा नियुक्त गरेको हो ।
६२ वर्षीय रोबिन सिंहसँग प्रशिक्षणको लामो अनुभव छ । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्स र क्यारेबियन प्रिमियर लिगमा बारबाडोस ट्रिडेन्ट्सको प्रशिक्षण सम्हालिसकेका छन् । यस्तै, सिंहले यूएईको राष्ट्रिय टिमलाई समेत प्रशिक्षण दिइसकेका छन् । खेलाडी जीवनबाट सन्यास लिएपछि सिंहले सुरूमा भारतको यू–१९ टिमको प्रशिक्षक बनेका थिए । सन् २००४ मा हङकङको प्रशिक्षक बनेका उनले हङकङलाई एसिया कपमा छनोट गराउन भूमिका खेलेका थिए । त्यसपछि सन् २००६ मा उनी भारत ए टिमको प्रशिक्षक बने । २००७ र २००८ मा उनले भारतीय राष्ट्रिय टिममा फिल्डिङ प्रशिक्षकको रुपमा काम गरे भने सन् २००८ मा सुरू भएको आईपीएलको पहिलो सिजनमा सिंह डेक्कन चार्जर्सको प्रशिक्षक भए । सन् २०१० मा मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक बनेका तीन सिजन मुम्बईको टिममा रहे । मुम्बईले सन् २०१३ मा आईपीएल उपाधि जितेदेखि उनी कोचिङ संरचनामा समावेश थिए । उनी सन् २०१२ पछि बार्बाडोस ट्रिडेन्ट्सका प्रशिक्षक बनेका थिए ।
रोबिन सिंह सन् २०२० मा युएईको राष्ट्रिय टिमको डिरेक्टर अफ दि क्रिकेट तथा मुख्य प्रशिक्षक बने । उनकै प्रशिक्षणमा युएईले सन् २०२२ मा अस्ट्रेलियामा भएको आईसीसी टी–२० विश्वकप खेलेको थियो । सन् २०२३ देखि सुरू भएको इन्टरनेसनल लिग टि–२० मा उनी पहिलो सिजन एमआई इमिरेट्सको जीएम बनेका थिए । अर्काे सिजन उनी एमआई इमिरेट्सको मुख्य प्रशिक्षक बन्दै टिमलाई च्याम्पियन बनाउन योगदान गरेका थिए । यस्तै, खेलाडी हुँदा अलराउन्डर रहेका उनले भारतका लागि एक टेस्ट र एक सय ३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले टेस्टमा एक खेलमा २७ रन मात्र बनाएका थिए । यस्तै, एकदिवसीय अन्तर्राष्ट्रियमा दुई हजारभन्दा बढी रन बनाएका उनले ६९ विकेट लिएका थिए ।
दुई दशक लामो प्रशिक्षण अनुभव भएको रोबिन सिंहको आगमन र उनको अनुभवले लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग दोस्रो सिजनमा राम्रो नतिजा ल्याउने विश्वास गरेको छ । लुम्बिनी लायन्स टिमका अध्यक्ष ईश्वर जिसीले अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव र प्रतिभाले भरिपूर्ण सिंहलाई लुम्बिनीमा ल्याउनु समग्र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने एउटा अवसर भएको बताए । रोबिन सिंहले लुम्बिनी लायन्सको मेन्टर बन्दा खुसी व्यक्त गरेका छन् । साथै, उनले टिममा युवा प्रतिभावान खेलाडीहरूसँग आफ्नो अनुभव बाँड्न उत्साहित समेत रहेको बताए । लुम्बिनी लायन्सको मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल छन् । यस्तै, लुम्बिनीले दोस्रो सिजनका लागि विदेशी खेलाडीमा अस्ट्रेलियन डार्सी सर्ट र इटलीका बलर थोमस ड्राकालाई अनुबन्ध गरिसकेको छ । अन्य विदेशी खेलाडी पनि चाँडै घोषणा गरिने जनाइएको छ ।