काठमाडौं । बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइलाई छरितो बनाउन अत्याधुनिक पाँच थान मुद्रण मेसिन खरिद गरी स्थापना गरेको छ । मेसिन खरिद गरेपनि सुरक्षण मुद्रण विभागबाट अनुमति नआएपछि सञ्चालनमा ल्याउन भने सकेको छैन ।
प्रदेश सरकारले खरिद गरेका प्रत्येक मेसिनले प्रतिघन्टा करिब एक सय ५० वटा लाइसेन्स छाप्ने क्षमता राख्ने जनाइएको छ । तर सुरक्षण मुद्रण विभागको स्वीकृति नआएकाले छपाइ प्रक्रिया रोकिएको हो । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाका अनुसार परीक्षा पास गरी राजस्व तिरेका हजारौँ सेवाग्राही अझै लाइसेन्सको प्रतीक्षामा छन् । जेएनजी प्रदर्शनका क्रममा मन्त्रालयका केही संरचनामा क्षति भएपनि प्राविधिक तयारी पूरा भइसकेको छ । तर सुरक्षण मुद्रण विभागको स्वीकृतिविना कानुनीरूपमा छपाइ सुरु गर्न नसकिने मन्त्री थापाले बताए । सोहीअनुसार स्वीकृति कुरेर बसेको उनको भनाइ छ ।
सुरक्षण मुद्रण ऐन, २०८१ को दफा ९ को उपदफा ३ अनुसार प्रदेश सरकारले जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउन यो पहल अघि बढाएको हो । प्रदेशस्तरमै लाइसेन्स छपाइ गर्न सक्ने व्यवस्था मिलाएपछि जनताले छिटो र सहज सेवा पाउने प्रदेश सरकारको अपेक्षा छ । हाल बागमती प्रदेशका करिब १२ लाख र देशभरका १३ लाख गरी जम्मा २५ लाखभन्दा बढी लाइसेन्स छपाइका लागि बाँकी छन् । केन्द्रमा मात्रै छपाइ हुने व्यवस्था भएकाले ढुवानी, वितरण र समय खर्चिलो प्रक्रिया कारण जनताले असुविधा भोग्नुपरेको श्रम, रोजगार तथा यातायात मन्त्रालयको भनाइ छ ।
प्रदेश सरकारले संघीय सरकारसँग अनुमति प्राप्तिका लागि पटक–पटक पत्राचार गरे पनि अहिलेसम्म स्पष्ट निर्देशन नआएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव वीरेन्द्र देव भारतीले भने, ‘जनताको हितका काममा हामी प्रतिबद्ध छौँ । आवश्यक अनुमति मिल्नेबित्तिकै लाइसेन्स छपाइ प्रक्रिया तुरुन्त सुरु हुनेछ ।’