मुस्ताङ । भारी हिमपातका कारण विगत १० दिनदेखि मुस्ताङ-डोल्पा सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएका कारण जोमसोमदेखि छुकसम्वसम्म मालवाहक तथा सवारीसाधन लैजान सकिएको छैन ।
मुस्ताङ-डोल्पा सडक अन्तर्गत मुस्ताङको पाक्लिङदेखि साङ्ता गाउँ हुँदै डोल्पा जाने सडक छुकसम्वसम्म विस्तार भइसकेको सडक डिभिजन कार्यालय मुस्ताङले जनाएको छ । उपल्लो डोल्पाका नागरिकलाई मुस्ताङको जोमसोम आएर मालसामान ढुवानी गर्न तथा पोखरा-काठमाडौँ आउजाउ गर्न डोल्पा सदरमुकाम दुनैभन्दा छोटो मार्गका रुपमा लैजान सडक डिभिजन कार्यालय बाग्लुङले मुस्ताङ-डोल्पा सडक स्तरोन्नति तथा नयाँ ट्रयाक खोलेको हो ।
वारागुङ मुक्तिक्षेत्र-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले समुन्द्री सतहको चार हजार मिटर उचाइबाट विस्तार गरिएको मुस्ताङ-डोल्पा सडक भारी हिमपातका कारण सडक अवरुद्ध भएको जानकारी दिए । वडाध्यक्ष गुरुङले मुस्ताङ(डोल्पा सडकको हिउँ पन्छाएर सडक सञ्चालन गर्न सडक डिभिजन कार्यालय बागलुङसँग माग गरिएको बताए ।
भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्तामा एक सातादेखि विद्युत् र इन्टरनेट सेवाका साथै मोबाइल फोन सेवा अवरुद्ध भएको त्यहाँका वडा सदस्य छिरिङपाल्साङ गुरुङले जानकारी दिए ।