काठमाडौं, नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहम्मद आफताब आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ।पार्टीका केन्द्रीय कार्यसमितिको बैठकले पूर्व मन्त्री आलमको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्‍याउने एक सक्षम, निष्ठावान र जनमुखी नेता गुमाएको बताएको छ। नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा रौतहट जिल्ला सभापति रहेका आलमको कार्तिक २१ गते राति उपचारको क्रममा निधन भएको थियो।पार्टीले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ — "दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ।"बैठकले आलमको सम्झनामा विभिन्न तहमा शोक कार्यक्रम गर्ने निर्णय गरेको छ। त्यसअनुसार — पार्टीका सबै कार्यालयमा तीन दिनसम्म पार्टी झण्डा आधा झुण्ड्याइने छ। केन्द्र, प्रदेश र जिल्ला तहका पार्टी कार्यालयहरूमा एक दिन शोकसभा कार्यक्रम आयोजना गरिनेछ। रौतहट जिल्ला समितिको पहलमा विशेष श्रद्धाञ्जलि सभा आयोजना गरिनेछ। यो शोक विज्ञप्ति नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरिएको हो।