काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार २० वटा बैंकले यस तीन महिनामा कुल १३ अर्ब १४ करोड ८६ लाख ५६ हजार रुपैैंयाँ मात्र खुद नाफा कमाएको देखिएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा झण्डै १९ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले कुल १६ अर्ब १८ करोड ८६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।
पछिल्लो समय देशको अर्थतन्त्र पूर्णरुपमा चलायमान हुन नसक्दा बैंकहरुमा निक्षेप बढे पनि कर्जा बढ्न सकेको छैन । यसले बैंकहरुमा लगानीयोग्य रकम थप्रिएको छ । राष्ट्र बैंकले समेत कर्जा बढाउनका लागि प्रोत्साहन गर्नुको साटो अधिक तरलता नियन्त्रणमा राख्नको लागि लामो तथा छोटो अवधिको विभिन्न किसिमको मौद्रिक उपकरणहरु जारी गरिरहेको छ । अहिलेसम्म राष्ट्र बैंकले चालू आर्थिक वर्ष सुरु भएदेखि यतापटक पटक गरी आठ खर्ब रुपैयाँभन्दा बढी अधिक तरलता बैंकिङ प्रणालीबाट खिचेर आवश्यकताअनुसार बजारमा पठाएको छ । तर यति गर्दा पनि न अधिक तरलता नियन्त्रणमा आउन सकेको छ, न त कर्जा प्रवाह नै बढ्न सकेको छ ।
अधिक तरलता नियन्त्रणमा आउन नसकेको यही अवस्थामा बाबजुत पनि यही भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन र त्यसअघि र पछिको असहज आर्थिक अवस्थाकै कारण बैंकहरुले नियमितरुपमा सावाँव्याज असुली गर्न सकेका छैन । नयाँ कर्जा ठप्पजस्तै रहेको छ भने पुरानो कर्जाबाट पनि व्याज असुली हुन सकेको छैन । यसले गर्दा पछिल्लो समय बैंकहरुमा निष्क्रिय कर्जा बढेको छ । निष्क्रिय कर्जा बढ्नुको नकारात्मक प्रभाव बैंकहरुको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको खुद मुनाफामा परेको छ ।
ग्लोबलको सबैभन्दा बढी नाफा
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ भने नबिल बैंक बढी नाफा कमाउने दोस्रो ठूलो बैंक बनेको छ । यस अवधिमा सिटिजन्स बैंक इन्टनरनेसनलले भने खुद नोक्सानी व्यहोरेको छ । चालू आवको पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई, एभरेस्ट, सानिमासहितका झण्डै आधा दर्जन बैंकहरुको खुद नाफा बढ्दा बाँकीको नाफा घटेको छ ।
तीन महिनामा ग्लोबल आईएमई बैंकले एक अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा चार दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा बैंकले एक अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाउँदा चार दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । नबिल बैंकले भने चालू आवको पहिलो त्रैमासमा एक अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाउँदा शून्य दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा बैंकले दुई अर्ब पाँच करोड ६५ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाउँदा एक दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
त्यसैगरी कुमारी, एनएमबी र सिद्धार्थले क्रमशः एक अर्ब पाँच करोड ६५ लाख ३१ हजार, ९१ करोड ५९ लाख ८३ हजार र ३२ करोड ४० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः छ दशमलव ९८, चार दशमलव ५८ र तीन दशमलव ८० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः एक अर्ब सात करोड ८१ लाख ७७ हजार, एक अर्ब १५ करोड ६० लाख तीन हजार र ३८ करोड २० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः चार दशमलव ९६, तीन दशमलव ६३ र तीन दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
स्टान्र्डर्ड चार्टर्ड, प्रभु, सानिमा र राष्ट्रिय वाणिज्य बैंकले पनि चालू आवको पहिलो त्रैमासमा क्रमशः ६९ करोड २१ लाख ६९ हजार, ५५ करोड ८४ लाख ८३ हजार, ४५ करोड ४७ लाख १८ हजार र ५९ करोड ८७ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः एक दशमलव ७१, पाँच दशमलव ७८, एक दशमलव ५८ र तीन दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने यी बैंकहरुले क्रमशः ५६ करोड २२ लाख एक हजार, एक अर्ब चार करोड छ लाख ५७ हजार, ३९ करोड ९५ लाख ३० हजार र १५ करोड १३ लाख दुई हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः एक दशमलव ९५, चार दशमलव ९४, एक दशमलव ३८ र चार दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
यता, नेपाल बैंक, माछापुच्छे« बैंकले क्रमशः ५८ करोड ८२ लाख ८७ हजार र ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाउँदा सिटिजन्स बैंकले भने २२ करोड चार लाख ११ हजार रुपैयाँ खुद नोक्सानी व्यहोेरेको छ । यस अवधिमा यी बैंकहरुमा क्रमशः पाँच दशमलव ४९, चार दशमलव १३ र छ दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः ६० करोड २१ लाख ९८ हजार, ५० करोड ३२ लाख ६३ हजार र १९ करोड ८२ लाख २० हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः तीन दशमलव ९५, तीन दशमलव १५ र पाँच दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
प्राइम, हिमालयन र एनआईसी एसिया बैंकले पनि चालू आवको पहिलो त्रैमासमा क्रमशः एक अर्ब २५ करोड ८४ लाख ३० हजार, ७० करोड २८ लाख ९४ हजार र १२ करोड २१ लाख ६० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः पाँच दशमलव ८६, सात दशमलव ३९ र एक दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः एक अर्ब २८ करोड ६७ लाख ८७ हजार, ७२ करोड ६४ लाख ३२ हजार र ११ करोड पाँच लाख २६ रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः चार दशमलव ८६, चार दशमलव ९८ र दुई दशमलव शून्य आठ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको पहिलो त्रैमासमा नेपाल एसबीआई, एभरेस्ट र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पनि क्रमशः ५० करोड १५ लाख ६५ हजार, एक अर्ब १७ करोड ९२ लाख ७४ हजार र चार करोड ५० लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः तीन दशमलव शून्य एक, शून्य दशमलव ७४ र एक दशमलव ४६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः ८१ करोड ४६ लाख ५१ हजार, एक अर्ब १२ करोड ७७ लाख ४० हजार र एक अर्ब ४६ करोड ४० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः एक दशमलव ८४, शून्य दशमलव ७७ र एक दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
लक्ष्मी सनराइज र कृषि विकास बैंकले भने चालू आवको पहिलो त्रैमासमा क्रमशः ३३ करोड २३ लाख ३१ हजार र ५७ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः पाँच दशमलव ४२ र चार दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः ५३ करोड ६३ लाख ५९ हजार र १९ करोड नौँ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाउँदा क्रमशः पाँच दशमलव ४४ र चार दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।