काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा हुने हरेक आन्दोलन वा प्रदर्शनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको गुनासो गरेका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस २.०’मा उनले हरेक आन्दोलन वा प्रदर्शनमा निजी क्षेत्रमाथि नै प्रहार हुने गरेको बताएका हुन् ।
‘उद्योगी र व्यवसायीले जसोतसो जोहो गरेर, सरसापट गरेर, ऋण काडेर लगानी गरेको हुन्छ, राजस्वमा योगदान पुर्याएको हुन्छ ।
रोजगारीको अवसर सिर्जना गरेको हुन्छ । तर पनि उद्यमी व्यवसायीका शयनकक्षसम्म लुटपाट भएको छ’, ढकालले भने, ‘व्यापार व्यवसायमा आगो लागेको छ । यो घटनाले सबैले आफैँले आफैँलाई फर्केर हेर्न पनि बाध्य पारेको छ । समाज कहाँ चुक्यो र हामी कहाँ चुक्यौँ, समीक्षा गर्दै छौँ ।’
अझ विगतका आन्दोलनहरुभन्दा यसपटकको जेन–जी प्रदर्शनले निजी क्षेत्र बढी आहत भएको बताउँदै उनले नाफा आर्जन गर्नु नै अपराधको रुपमा बुझ्दा समस्या भएको दाबी गरे । आगजनी, तोडफोड लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्न उनले सरकारसँग माग गरे । अहिले मुलुक आशा र संशयको दोबाटोमा उभिएको बताउँदै उनले युवापुस्ताको आन्दोलन र मागबमोजिम मुलुकमा भ्रष्टाचार न्युनीकरण गरी शुसासन कायम गर्ने प्रयत्नमा सरकार लागेको उनले बताए ।
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र महासंघले गरेको अध्ययनअनुसार नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको र ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिएको उनले बताए ।
‘अधिकांश निर्यात निजी क्षेत्रको उत्पादन हो । आयकरमा उद्यमी व्यवसायीको योगदान ८० प्रतिशतमाथि छ । मुलुकको यो महत्वपूर्ण तप्का जुर्मुराउन खोज्दै छ । नेपालको निजी क्षेत्र दरिलो र जिम्मेवार छ । कोभिडको समयमा अदालतले राजस्व बुझाउन समय दिएको अवस्थामा पनि सरकारलाई सहयोग गर्न महासंघको आग्रहमा हामीले कर बुझायौ र बुझाउन अभिप्रेरित गर्यौँ । कोभिड सुरु भएको पहिलो आर्थिक वर्ष पनि संशोधित लक्ष्यभन्दा बढी राजस्व संकलन भयो,’ अध्यक्ष ढकालले भने ।
उनले आन्दोलनका कारण संवेदनशील र विषम परिस्थितिमा रहेको बताए र पुनः निर्माण र सुरक्षालगायतका विषय आवश्यक रहेको बताए । व्यवसायीले सुरक्षाको अनुभूति नगरिरहेको बेला गृह मन्त्रालयबाट सबै जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिमा उद्योग वाणिज्य संघलाई सहभागी गराउने परिपत्र हुँदा सकारात्मक सन्देश प्रवाह भएको ढकालले उल्लेख गरे ।
‘लुटपाट आगजनीमा संलग्नलाई कारबाही गरी अब यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रको मनोबल बढाई काम गर्नु आवश्यक छ । यसमा सरकारले कुनै पनि कसर बाँकी राख्नुहुँदैन’, उनले भने ।
अध्यक्ष ढकालले डेडिकेटेड फिडर र ट्रकलाइनसम्बन्धी विवाद समाधानका सरकारले देखाएको चासोले धन्यवाद व्यक्त गरे । आन्दोलनको क्रममा अर्बौं रुपैयाको क्षति भएको कारण यसबाट माथि उठ्नुपर्ने अध्यक्ष ढकालले बताए । ‘देशमा लगानी बढाउन थप सहकार्य आवश्यक छ । महासंघले गरेको प्रारम्भिक सर्वेक्षणअनुसार प्रदर्शनका क्रममा करिब ४८ अर्ब रुपैयाँको भौतिक क्षति भएको छ । यसबाट निजी क्षेत्रको करिब ८८ अर्ब बारबार नोक्सानी भएको छ,’ उनले भने ।
फेरि समस्या वा आन्दोलन भएमा नोक्सानी बढ्ने अध्यक्ष ढकालको दाबी छ । हालको अवस्थामा सुधारको संकेत पनि देखिएको बताउँदै उनले परिस्थिति प्रतिकूल हुँदै गयो भने यो नोक्सानी बढ्दै जान पनि सक्ने चिन्ता गरे ।
‘पर्यटनमा सुधार भएन, आपूर्ति शृङ्खलामा फेरि अवरोध भयो, फेरि आन्दोलन भयो भने, नोक्सानी बढ्दै जानेछ । विश्व बैंकले पहिलेको प्रक्षेपण घटाउँदै यस वर्ष दुई प्रतिशत हाराहारी मात्रै आर्थिक वृद्धि हुने आकलन सार्वजनिक गरिसकेको छ । मुलुकको आवश्यकता समेतलाई दृष्टिगत गरी अर्थतन्त्रमा ८१ प्रतिशत योगदान पुर्याउने निजी क्षेत्रको मनोबल बढाउन विशेष पहल वर्तमान सरकारबाट अपेक्षित छ’, उनले भने ।