काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले उद्योगी व्यवसायीलाई नडराई उद्योग व्यवसायमा लाग्न आह्वान गरेकी छिन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) द्वारा राजधानीमा आयोजित राष्ट्रिय आर्थिक बहस २.० मा निजी क्षेत्रलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गरेकी हुन् ।
नेपालको अर्थतन्त्रको जग (रेमिट्यान्स, प्राकृतिक स्रोत, पर्यटन) बलियो भएको तर संरचनागत कमजोरी र पुँजी पलायनका कारण मेहनतअनुसारको फल पाउन नसकेको उनको भनाइ थियो । उनले हाम्रो जग र चुनौतीहरू, विश्वास, एकता र शक्तिशाली भविष्य, सुशासन, नीतिगत सुधार र सहकार्यको इन्जिन र जेन–जी आन्दोलन र युवाको म्यान्डेटबारे धारणा राखेकी हुन् ।
उनले भनिन्, ‘विभिन्न अध्ययनहरूले देखाएका छन् कि हाम्रो अर्थतन्त्रको जग (रेमिट्यान्स, प्राकृतिक स्रोत, पर्यटन) बलियो हुँदाहुँदै पनि संरचनागत कमजोरी र पुँजी पलायनका कारण हामीले मेहनतअनुसारको फल पाउन सकिरहेका छैनौँ ।’
उद्योगधन्दामा समस्याका कारण युवाहरु विदेशिन परेको उनको भनाइ छ । युवाहरूले देशमा काम पाउन नसकेर विदेशिनु परेको, उद्योगधन्दामा लगानी बढ्न नसकेको र बैंकहरूको ऋण नउठ्ने समस्याले समग्र बजारमा एक किसिमको निराशा छाएको यथ(ार्थलाई सरकारले स्वीकारेको उनले बताइन् । देशको कुल गार्हस्थ उत्पादन (जीडीपी), निर्यात, रोजगारी सिर्जना र करदाताका रूपमा निजी क्षेत्रको योगदान सधैँ अग्रणी रहेको उनको भनाइ छ ।
जेन–जी आन्दोलन र युवाको म्यान्डेटअन्तर्गत भर्खरैको भदौको जेन–जी आन्दोलनले देशलाई के सह्य छ र के असह्य छ भन्ने एउटा खुला लक्ष्मणरेखा स्थापित गरेको उनको भनाइ छ । आन्दोलनमार्फत् युवापुस्ताले घुसखोरी, पार्टीगत लेबी र कमिसनको सञ्जाल सह्य नभएको सन्देश दिएको बताइन् । लोकतन्त्रको नाममा लुटतन्त्र स्वीकार्य नभएको र इमानदार उद्यमीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरू पोसिने अवस्था रहन नहुने म्यान्डेट यो सरकारले पाएको उनको दाबी थियो । जेन–जी आन्दोलनको नाममा केही समूहले फाइदा उठाएको पनि उनको भनाइ छ । गत भदौ २३ र २४ गतेको आन्दोलनले नेपाललाई एक नवीन म्यान्डेट दिएको बताउँदै उनले नेपाल अब एक पछौटे मुलुकको यथास्थितिमा बस्न नसक्ने दाबी गरिन् ।
सुशासन, नीतिगत सुधार र सहकार्यको इन्जिनबारे पनि उनले भनाइ राखेकी थिइन् । प्रधानमन्त्री कार्कीले हालका चुनौतीहरू सामना गर्न सरकारले स्पष्ट कार्यदिशा लिएको बताउँदै अब सप्रनेबाहेक अझै बिग्रने छुट नभएको उल्लेख गरिन् । कानुनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने र सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागेको उनको दाबी छ ।
प्रधानमन्त्री कार्कीले उद्योगी व्यवसायीले कर मात्र नभई रोजगारी सामाजिक सुरक्षाको सुनिश्चितता समेत गरेको बताइन् ।
कुनै पनि व्यवसाय, उद्यमीको सपना, वित्तीय क्षेत्रको लगानी, पेसाकर्मीहरूको दक्षता र श्रमिकहरूको पसिनाले सिञ्चिएको उनको भनाइ थियो । यसमा समाज र सरकारको भूमिका उचित वातावरणको निर्माणमा केन्द्रित हुने उनले उल्लेख गरिन् । प्रधानमन्त्री कार्कीले अर्थ मन्त्रालय र मन्त्रीले निजी क्षेत्रलाई निरन्तर सहयोग गरिरहेको बताइन् । रेमिट्यान्सको भरमा नपरी पुँजीगत खर्चलाई तीव्र बनाउनुपर्ने बताउँदै उनले । यसका लागि आफ्नै उत्पादन बढाउने अभियानमा सरकार र निजी क्षेत्र लागेको दाबी गरिन् ।
‘विज्ञहरूको सुझावअनुसार, हामी पुँजीगत खर्चलाई तीव्र बनाउँदैछौँ, जसले बजारमा तरलता बढाउँछ र रोजगारी सिर्जना गर्छ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीमा सरकार जुटेको र निर्वाचनमार्फत दिगो लोकतान्त्रिक प्रक्रियामा मुलुक अगाडि बढाउने र यही नै गरिखान सकिन्छ भन्ने आशा जगाउँदै त्यसका लागि उपयुक्त वातावरण बनाउन प्रयासरत रहेको उनको भनाइ थियो । उद्यमी, किसान र युवाहरु आत्मविश्वासका साथ अघि बढेमा आर्थिक सफलता प्राप्त गर्ने र आर्थिक सुशासन कायम गर्न सक्ने उनले दाबी गरिन् ।
‘म सबै उद्यमी, किसान र युवाहरूलाई आह्वान गर्न चाहन्छु—डराउने होइन, बरु आत्मविश्वासका साथ अगाडि बढ्नुहोस् । तपाईंहरूले आशंका र भय पाल्ने बेला होइन । हातेमालो गर्ने बेला हो। विभिन्न अध्ययनले हाम्रो आर्थिक वृद्धिदर बढ्ने र महँगी घट्ने संकेत दिएका छन्, जसले हाम्रो प्रयास सही दिशामा छ भन्ने देखाउँछ । हामीले हिजोभन्दा राम्रो भोलि बनाउन एकजुट हुनेछौँ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।