काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबारस्थित पिएसबी, नेपाल टेलिभिजनको परिसरमा सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको प्रथम वार्षिकोत्वसका अवसरमा ‘एनटिभी वर्ल्ड’को औपचारिक शुभारम्भ गरेका छन् ।
आइतबार आयोजित समारोहमा नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानलका रुपमा ‘एनटिभी वर्ल्ड’ शुभारम्भ गरिएको हो । यो च्यानलले नेपाल अन्तरराष्ट्रिय जगत्मा नेपाल बुझिने सामग्रीहरु समावेश गर्नेछ ।
कार्यक्रममा पिएसबीको लोगो र मोबाइल एप राष्ट्रपति पौडेलले सार्वजनिक गरेका हुन् । पिएसबी नेपालले नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रुपान्तरित प्रथम वार्षिकोत्सव मनाएको हो । २०८१ असोज २२ गते राष्ट्रपति पौडेलबाट विधेयक प्रमाणीकरण भएको थियो ।
ऐनको व्यवस्थाबमोजिम प्रमाणीकरण भएको ३१औँ दिन आइतबार २०८१ कात्तिक २३ गतेदेखि सो कानुन कार्यान्वयनमा आएको हो । यो ऐन कार्यान्वयनमा आएसँगै रेडियो प्रसार सेवा विकास (समिति) गठन आदेश, २०४१ अन्तर्गत गठित रेडियो नेपाल र सञ्चार संस्थान ऐन, २०२८ अन्तर्गत स्थापित नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको थियो ।