घोडाघोडी (कैलाली) । पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२च २३५८ नम्बरको तरकारी बोकेको जिपले ठक्करदिँदा एक व्यक्तिको मृत्यु भएको छ ।
सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले आइतबार बिहान जिपले ठक्कर दिँदा साइकलयात्री बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुरका ५५ वर्षीय शङ्कर डगौराको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
पैदलयात्री घोडाघोडी –२ साडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुर बस्ने ४५ वर्षीय हर्कबहादुर डगौरा र बर्दगोरिया–६ कै २५ वर्षीय कृष्ण डगौरा घाइते भएका छन् । घोडाघोडी अस्पतालमा उनीहरुको उपचार भइरहेको छ भने थप उपचारका लागि घाइते पदमबहादुर शाहीलाई धनगढी रेफर गरिएको छ ।
इलाका प्रहरी कार्यालयले जिप र चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।