काठमाडौं । सर्वमान्य नेता गणेशमान सिंहको १११औँ जन्मजयन्तीको अवसर पारेर गणेशमान सिंह तथा सहिदस्मृति प्रतिष्ठानले आज (सोमबार) एक भव्य समारोहका बीच नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीलाई जनआन्दोलन स्वर्णपदकले विभूषित गर्ने भएको छ ।
प्रथम राष्ट्रपति डा रामवरण यादवले सोमबार दिउँसो पत्रकार निष्ठुरीलाई काठमाडौंको शान्तिवाटिकामा आयोजना गरिने कार्यक्रममा एक तोला सुनको जनआन्दोलन स्वर्णपदकले विभूषित गर्ने र अभिनन्दनपत्र प्रदान गर्ने कार्यक्रम रहेको थाहा भएको छ ।
२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले प्रजातान्त्रिक व्यवस्थालाई कु गरेर शासनसत्ता आफ्नो हातमा लिएपछि महासंघका तत्कालीन महासचिव निष्ठुरीले धुलिखेलमा भएको पत्रकार महासंघको बैठकमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको औपचारिक प्रस्ताव गरेका थिए ।
त्यही प्रस्तावका कारण शाही सत्ताले उनलाई सबैभन्दा पहिले गिरफ्तार गरेको थियो । उनले देखाएको त्यही साहसको कदर गर्दै प्रतिष्ठानले पत्रकार निष्ठुरीलाई जनआन्दोलन स्वर्णपदकले विभूषित गर्ने निर्णय गरेको थाहा भएको छ ।