जेन–जी प्रदर्शनको सबैभन्दा ठूलो हलचल एउटा निश्चित उमेर कटेका नेताहरुमा ल्याएको छ । तर उनीहरु नेतृत्वचाहिँ छाड्ने पक्षमा देखिएनन् । आफ्नो नेतृत्व कायम रहने सर्तमा बरु आफूले नेतृत्व गरिरहेको दल विघटन गर्न नै तयार भए ।
त्यसको पछिल्लो उदाहरण हालै भएको दश बामको एकता हो । त्यसमा माओवादीले माओवाद, समाजवादीले समाजवाद हँुदै आफ्ना झण्डा र चिह्नहरु छाडेर गरिएको एकता हुनुपर्छ ।
अरु दलमा के भयो तर यतिबेला अध्यक्ष र सहअध्यक्ष पाएका दलहरु माओवादी र समाजवादीका नेता पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाल यी दलका अध्यक्ष थिए । उनीहरुले नेतृत्व छाडनुपर्छ र नयाँ पुस्तालाई मौका दिनुपर्छ भन्ने व्यापक दबाब थियो ।
तर उनीहरुको रोजाइमा नेतृत्व छाड्ने होइन बरु दल नै विलय गर्ने र नेतृत्वमा रहिरहने रोजाइले जित्यो । गएको हप्ता माओवादी, एकीकृत समाजवादी र अन्य साना वाम घटकबीच एकता भएको छ, जसमा १० वामपन्थी दल जुटेका छन् । त्यसमा चर्चित भने माओवादी र एकीकृत समाजवादी नै हुन् । अरु भने कतिपय गुमनाम नै थिए । यी दशमध्येका त पाँचवटा त पहिले माओवादीबाट पुटेर गएका नै छन् ।
गएको बुधबार उनीहरुले काठमाडौंको भृकुटीमण्डपमा घोषणासभा गर्दै नवगठित पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिएको जानकारी गराए । अहिले यी सबै दलहरुको नेपाल कम्युनिस्ट पार्टी छोटकरीमा नेकपा राखेर त्यसमा केही फुर्कोजस्तो माओवादी केन्द्र, एकीकृत समाजवादी आदि ।
जुनसुकै बेला कम्युनिस्ट पर्टीहरु फुट्दा यस्तो फुर्को एक प्रकारले अनिवार्यजस्तै मानिन्थ्यो । यसपटक भने त्यस्तो फुर्को जोडिएन । ‘नेपाल’लाई ‘नेपाली’ बनाएपछि पछाडि जोडिने फुर्कोको आवश्यकता नपरेको ठानियो । सम्भवतः यो पनि एउटा रुपान्तरण नै मानिएको हुनुपर्छ ।
यो घोषणा सभालाई उनीहरुले एकता महाधिवेशन भन्ने संज्ञा दिएका छन् र एकता महाधिवेशनले पार्टी संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाललाई चयन गरेको बताइएको छ । यो महाधिवेशनअघिसम्म प्रचण्ड माओवादीका संयोजक र नेपाल एकीकृत समाजवादीका अध्यक्ष थिए ।
यो सभामा सबैले जेन–जीलाई धन्यवाद दिए । आफू रुपान्तरित हुन उनीहरुको यो प्रदर्शनीले पे्ररणा दिएका भन्ने नै सबैको भनाइ थियो । तर यता निर्णायक तहको अर्थात् कार्यकारी नेतृत्वमा भने कोही पनि जेन–जी समूहबाट परेनन् ।
प्रचण्डको पछिल्लो सरकारमा माओवादीका तर्फबाट पर्यटनमन्त्री रहेका माओवादी युवा नेता सुदन किराँतीले पुष्पकमल दाहाल ’प्रचण्ड’ले गठन गरेको नेपाली कम्युनिस्ट पार्टीलाई वृद्वाश्रम भनेका छन् । किराँती प्रचण्डसँग विद्रोह गरेर बाहिरिएका नेता हुन् ।
यतिबेला उनी प्रगतिशील राष्ट्रिय अभियानमा सक्रिय छन् । उनका अनुसार प्रचण्डले ७० वर्ष उमेर पूरा भएका नेताहरूलाई नेपाली कम्युनिस्ट पार्टीको झण्डामुनि जम्मा गरेर वृद्धाश्रम खोलेको देखिन्छ । नेपालको कानुनअनुसार ७० वर्ष उमेर कटेकाहरूलाई सरकारले वृद्धभत्ता दिन्छ । प्रचण्डजीले गठन गरेका नेकपा नेतृत्वमा सबै ७० वर्ष कटेका नेताहरू छन्, भृकुटीमण्डपमा भेला राखेर प्रचण्डजीले वृद्वाश्रमको उद्घाटन गरे । नयाँ कम्युनिस्टहरूको मुकुन्डो उघ्रियो । कहिले कांग्रेससँग मिलेर त कहिले दारबारीयासँग मिलेर सरकार बनाउनेहरूले अरुलाई गलत देख्ने ? कम्युनिस्ट पार्टीको नाममा वृद्वाश्रम खोल्नेहरूलाई लाज लाग्नुपर्ने हो । अब त कुरीकुरी भन्नैपर्ने भयो ।
किराँतीले भनेजस्तै त्यसदिन छैठौँ मर्यादाक्रममा रहेका छ जननेता ७० देखि ७६ वर्ष उमेर समूहका छन् । यसले जेन–जी प्रकट भएपछि देश रूपान्तरण हुने भन्नेमा आशावादी भएका जनतामा फेरि पुराना नेताहरू सक्रिय हुँदा निराशा बढ्ने अवस्था बन्दै गएको देखिन थालेको छ ।
आफ्नै दलभित्र उमेरका कारण नेतृत्व छाड्न व्यापक दबाब झेलिरहका उनीहरुले अब भने केही दिनका लागि त्यस्तो किचकिच सुन्नुपर्ने छैन । तर यो एकता धेरै दिन टिक्दैन भन्नेचाहिँ त्यसै दिनदेखि प्रकट हुन थालेको हो ।
नेकपा (माओवादी केन्द्र) का युवा नेता लेखनाथ न्यौपानेले बुधबार यो १० बामको मिलन घोषणा अर्थात् एकता आगामी चुनावसम्म पनि नटिक्ने टिप्पणी गरेका छन् । उनी आफैँ माओवादी अध्यक्षले नै माओवाद छाडेको यो एकता कार्यक्रममा सहभागी भएका थिएनन् । उनले आफनो सञ्जालमा लेखेका छन्– ‘ओछ्यानमा बसेर भिडियो हेरेपछि... पिँध नभाका लोटा, अनुहार कुचिएका, पानीका लौरा, पिङ खेल्दा खेल्दा थाकेका, गन्हाएका नाम मञ्चमा, यसो हेरेको सबै दानेगाईजस्ता, फुकाएपछि आ–आफ्नै बाटो लाग्ने, फागुन २१ सम्म रहे ठूलो कुरो ।’
यता आगामी छ महिनाभित्र महाधिवेशन गर्ने तय भएको यो पार्टीमा करिब एक हजार केन्द्रीय सदस्य रहने बताइएको छ । बताइएअनुसार नै यो एकतापछि माओवादीले ‘माओवाद’, चुनाव चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’ र समाजवादीले चुनाव चिह्न ‘कलम’ छाडेका छन् । नवगठित पार्टीको चुनाव चिह्न ‘पाँचकुने तारा’ हुने छ ।
तीन जना प्रधानमन्त्री संलग्न रहेको नयाँ दल भनिए पनि यसका अनुहार मात्र होइन संगठनको संरचना पनि उस्तै देखिन्छ । जस्तो एक हजार त केन्द्रीय सदस्य मात्रै छन् । एक हजारको केन्द्रीय सदस्य रहेको दलले कसरी छिटोछरितो ढंगले काम गर्छ भन्ने पहिलेदेखि नै प्रश्न उठ्दै आइरहेको थियो । अहिले त्यही भयो ।
नवगठित नेपाली कम्युनिस्ट पार्टी दुईजना अध्यक्ष र सहअध्यक्ष आर्थिक अपचलनका आरोपी हुन् । प्रचण्डमाथि सम्पत्ति शुद्धीकरण विभागले छानबिन गरिरहेको छ भने नेपाल साढे १८ करोड बिगोसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल सर्प पाल्ने सन्दर्भको ७५ करोडको काण्डमा चर्चामा आएको थिए । उनको नामको प्रतिष्ठान यो काण्डमा मुछिएको छ र यतिबेलासम्म छिनोफानो भएको छैन ।
तर उनीहरुले आफ्नो प्रतिबद्धता वा घोषणामा भने व्यापकरुपले सुशासन कायम गर्ने भनेका छन् । अख्तियारले भ्रष्टाचारको आरोपमा विशेषमा मुद्दा हालेका र त्यसको छिनोफानो भइनसकेका नवघोषित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेन–जीहरूलाई भ्रष्टाचार, राजनीतिक विकृति, विसंगति अन्त्यका लागि हातेमालो गर्न आह्वान गरेका छन् । उनले भने – ‘आज मात्रै केही जेन–जी युवालाई एकीकृत समाजवादीमा स्वागत गरेँ । अरू जेन–जीलाई पनि भन्न चाहन्छु– आउनुहोस् हातेमालो गर्दै अगाडि बढौँ । सुशासनको पक्षमा होस्, भ्रष्टाचारको अन्त्य, जनताको जीवनमा परिवर्तन गर्ने, समाजको विकृति विसंगति, राजनीतिमा देखिएका विकृतिको अन्त्य, सबै कुरामा हातेमालो गरौं, जनताको चाहना बुझ्नूस्, उनीहरू एकीकृत कम्युनिस्ट पार्टी खोजिरहेका छन् । क्रान्तिकारी पार्टी खोजिरहेका छन् । त्यही पार्टीको आशाभरोषा गरेका छन् । आउनुहोस् एकीकृत भएर अगाडि बढ्ने छिटोभन्दा छिटो निर्णय गर्नुहोस् ।’
पार्टीको घोषणामा संविधानको रक्षा, संघीयताको सबलीकरण गरिनेछ, प्रदेश जनप्रतिनिधिको संख्या घटाइनेछ, उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी दोषीलाई कारबाही गर्ने, महिला, दलित, मधेशी, मुस्लिम, जनप्रतिनिधि, अल्पसंख्यकलाई मूल प्रवाह समाहित गरी उनीहरूको अधिकार संरक्षण गरिने छ । जेन–जीको आकांक्षा पूरा गर्न प्रतिबद्ध रहने, विगतका गल्ती–कमजारी सच्याएर पार्टीलाई पुनर्गठन गर्ने पार्टीमा आन्तरिक लोकतन्त्र स्थापना गर्न आवश्यक विधि बनाउने, पार्टीमा सबै नेता उत्पादन र श्रम कार्यमा संलग्न हुने, कम्युनिस्ट आचरण कडाइ साथ लागू गर्ने र सादा जीवनशैली अवलम्बन पार्टीको मूल नीति हुनेछ । युवा, महिलालाई कम्तीमा ३० प्रतिशत सहभागी गराउने, एउटै व्यक्ति एउटै पदमा दुई पटकभन्दा बढी बस्न नहुने, आन्तरिक लोकतन्त्रको अभ्यास हुने र नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मुख्य उद्देश्य भनेर बताइएको छ ।
जेन–जीको प्रेरणबाट दश पार्टी एकठाउँमा आइएको भनेर एकता राष्ट्रिय सम्मेलनमा बताइयो । तर यसको यसको अर्थात् एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्तमा तिनै जेन–जी कतै पनि उल्लेख भएनन् । त्यो मार्गनिर्देशन यस्तो छ –
१. एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्टी एकता गरेर ‘नेपाली कम्युनिस्ट पार्टी’ निर्माण गर्ने निर्णय गरिएको छ ।
२. चुनाव चिह्न ‘पाँच कुने तारा’ राख्ने निर्णय गरिएको छ।
३. एकतामा सहभागी सबै सदस्यहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका सदस्य हुने निर्णय गरिएको छ।
४. एकतामा सहभागी सबै पार्टीका नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजनसम्बन्धी काम गर्ने तथा यसअघि सबै घटकका केन्द्रीय समितिलाई समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरिएको छ ।
५. केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजनसम्बन्धी काम गर्ने अख्तियारी पार्टीका संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव गरिएको छ ।
६. विगतका प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी समाजवादीको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधिहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका जनप्रतिनिधि हुनेछन् ।
७. पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल–अचल, बैंक मौज्दातलगायतका सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिस्ट पार्टीको स्वामित्वमा रहनेछ ।
८. नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्र पारित गरिएको छ ।
९. नेपाली कम्युनिस्ट पार्टीको विधान छलफल र आवश्यक सुझावसहित पारित गरिएको छ ।