काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपाल शिक्षक महासङ्घ, प्राध्यापक र शिक्षाका निकायका कर्मचारीका संघसंगठन गैह्रराजनीतिक चरित्रको बनाउन आग्रह गरेका छन् ।
मन्त्री पुनले आइतबार विज्ञप्ति जारी गर्दै साझा प्रकृतिको ट्रेड युनियन संगठन हुनुपर्ने र उनीहरुले पेसागत हकहितका लागि सामूहिक सौदाबाजी गर्न पाउनुपर्नेमा आफू स्पष्ट भएको उल्लेख गरेका छन् । तर राजनीतिक दलको जनसंगठन तथा शुभेच्छुक संस्थामा रहेका शिक्षक–प्राध्यापक सङ्गठनलाई आफूले मान्यता नदिने उनको भनाइ छ । मन्त्री पुनले आफूलाई विभिन्न माध्यमबाट प्राप्त सुझाव र गुनासोमा शिक्षक–प्राध्यापकले आचरणविपरीत राजनीतिक गतिविधिमा संलग्न भई शैक्षिक गुणस्तरमा प्रतिकूल असर परेको पाइएको विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘आचरणविपरीत राजनीतिक गतिविधिमा संलग्न भएको पाइए कानुनबमोजिम कारबाही गरिने छ’, मन्त्री पुनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।