काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा पूर्वाधार विकासका लागि आन्तरिक पुँजी परिचालन आवश्यक रहेको बताएका छन् ।
काभ्रे उद्योग वाणिज्य संघको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको अवसरमा उनले देशमा ठूला पूर्वाधार परियोजनाको लागि प्रत्यक्ष वैदेशिक लगानीको मात्रै मुख ताकेर नहुने बताए । देशमै छरिएर रहेको पूँजीलाई एकत्रित पूर्वाधार विकास तथा उद्यमशीलताको विकास गर्नुपर्नेमा उनले जोड दिए । आन्तरिक पुँजी परिचालनको लागि महासंघको पहलमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरी काम सुरु गरिएको उनले जानकारी दिए । यसबाट ठूला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि पुँजीको अभाव नहुने उनको भनाइ थियो ।
देशको आर्थिक वातावरण सुधार गर्न महासंघले निरन्तर प्रयास गरिरहेको भन्दै अध्यक्ष ढकालले सुशासन, पारदर्शिता, नीतिगत स्थायित्वको विषयलाई महासंघले प्राथमिताका साथ उठाएको बताए । ‘देशमा शान्ति, सुरक्षा र लगानीमैत्री वातावरण सिर्जना हाम्रो साझा प्राथमिकता हो । जेन–जी आन्दोलनमा उठेका सुशासन, पारदर्शिताका एजेन्डाहरु महासंघले उठाउँदै आएका एजेन्डाहरु हुन् ।’ उनले भने, ‘यद्यपि पछिल्लो जेन–जी आन्दोलन र त्यसक्रममा भएका घुसपैठले निजी उद्योग प्रतिष्ठानहरुमा ठूलो क्षति भएको छ । उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएको अवस्था छ । यो अवस्थामा औद्योगिक सुरक्षा र स्थायित्वका लागि कानुनी राज्यको प्रत्याभूति दिलाउनु आवश्यक छ ।’ उनले निजी क्षेत्रमाथि भएको आक्रमण र तोडफोडमा संलग्न दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग राखेको बताए । सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिने, नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको उनको भनाइ छ ।
उनले महासंघको पहलमा लामो समयदेखिको ट्रंक तथा डेडिकेटेर लाइनको समस्या समाधानका लागि सरकारसँग सहमतिको प्रयास गरेको बताए । यो प्रयाससँगै विद्युत्को विषयले दीर्घकालीन समाधान खोज्ने उनको विश्वास थियो । अध्यक्ष ढकालले जिल्लानगर वाणिज्य संघहरुको माग अनुरुप विधान संशोधन गरी दुई जना उपाध्यक्षको व्यवस्था गरिएको जानकारी दिँदै यो व्यवस्थाबाट जिल्ला नगर वाणिज्य संघहरु लाभान्वित हुने बताए । उनले स्थायी आर्थिक समृद्धि, उत्पादनमा आधारित अर्थतन्त्र, रोजगारी सिर्जना र स्वावलम्बी नेपाल भएकाले यसको सहकार्यका लागि महासंघ सधैँ तयार रहेको बताए ।