काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन तोकिएकै मितिमा भयरहित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न सरकार अहोरात्र लागिपरेको बताएका छन् ।
गृहमन्त्री अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइतबार गरेको शिष्टाचार भेटवार्ताका क्रममा उनले सरकारको प्राथमिकतामा निर्वाचन रहेको बताएका हुन् । दुईपक्षीय भेटका क्रममा मन्त्री अर्याल र राजदूत श्रीवास्तवबीच निर्वाचनका लागि शान्तिसुरक्षाको विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्री अर्यालले देश अहिले संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै शान्तिसुरक्षा, सुशासन र भ्रष्टाचाररहित सेवा प्रवाह सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका थिए । यस्तै, उनले नेपाल र भारतबीच कायम रहेको सम्बन्ध सधैँ निरन्तर रहने प्रष्ट पारे । दुई देशबीच खुला सीमा रहेको तथ्यलाई मध्यनजर गर्दै निर्वाचन अघि र निर्वाचनको समयमा सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्वपूर्ण रहने उनको भनाइ थियो ।
भारतीय राजदूत श्रीवास्तवले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचन भयरहित वातावरणमा प्रभावकारीरुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए । दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध सधैँ सकारात्मक र सुमधुर ढङ्गले अघि बढ्ने उल्लेख गर्दै उनले निर्वाचन सफल बनाउन खेल्नपर्ने भूमिका लागि सधैँ सकारात्मक रहेको बताए ।