काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि इलाइट लिडर्स कन्क्लेभ भन्ने नाराका साथ ३ दिने ‘चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम’ ललितपुरस्थित होटल रोयल टुलिपमा सम्पन्न गरेको छ ।
आव २०८१/२०८२मा तोकिएको लक्ष्य पूरा गर्न सफल पाँच सय २६ जना अभिकर्ताहरुलाई कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंहज्यूको समुपस्थितिमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले चर्चित मोटिभेटर प्रशिक्षक एवं पूर्वबैंकर अनिलकेशरी शाहले प्रशिक्षण प्रदान गरेको छ । प्रशिक्षणको क्रममा उनले कुनै पनि क्षेत्रमा सफल हुनका लागि कुनै पनि क्षेत्र वा पेसामा नेतृत्व लिन सक्ने हैसियत बनाएमा आफ्नो पेसामा सफल हुन सक्ने बताए ।
कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी जानकारी दिने उद्देश्यले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पर्नसक्ने नकारात्मक प्रभाव र सो रोकथामका लागि अवलम्बन गर्नुपर्ने उपायहरुका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको चेयरपर्सन क्लब कार्यक्रममा अथक परिश्रम र मिहिनेतबाट तोकिएको लक्ष्य पूरा गरी सदस्यता प्राप्त गर्ने सबैलाई बधाई ज्ञापन गर्दै छनौट भएका सबै अभिकर्ताहरुलाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधाहरुमा सर्वोत्कृष्ट घोषित भएका अभिकर्ताहरुलाई सम्मान प्रदान गरेको छ । सो अवसरमा कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सधैँ प्राथमिकतामा राख्ने प्रतिबद्धता प्रकट गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउने अभिकर्ता सञ्जाललाई अझ व्यावसायिक बनाउन यथाशक्य थप लगानी गर्दै जाने योजनाअनुरुप अभिकर्ताहरुलाई थप व्यावसायिक बनाउन कम्पनी प्रयत्नशील रहेको बताए ।
उक्त कार्यक्रममा चेयरपर्सन क्लबमा छनौट हुनु भएको सबै अभिकर्ताहरुलाई सदस्यता वितरण र विभिन्न विधामा सर्वोत्कृष्ठ घोषित भएका अभिकर्ताहरुलाई सम्मान प्रदान गर्नुका साथै सो समारोहमा नेपालभरबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलग–अलग उत्कृष्ट सात जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो भने नेपालभरबाट आफ्नो कोड र सञ्जालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वित्तीय र तृत्तीय हुने अभिकर्ताहरु र समूहगत व्यवसायबाट प्रथम हुने एक जना गरी ७ जना लाई विशेष सम्मानको आयोजना गरी सम्मानपत्रलगयत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।
विविध मनोरञ्जनात्मक प्रस्तुतिसहित सम्पन्न सो कार्यक्रममा सम्मानित बिजनेस लिडरहरुले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मिहिनेतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।