देवदह (रुपन्देही) । दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा यही कात्तिक २१ र २२ गते जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी २२ लाख ८८ हजार २२८ बराबरको सामान नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले नियन्त्रणमा लिइएका सामान यही कात्तिक २३ गते आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–२ स्थित मैनिहवाबाट ऊलन लेडिज कुर्ता, बच्चाको मोजा, टोपी, टाउजर सेट, हुडी, जेन्स मोजा गरी एक लाख २५ हजार ८ सय बराबरको सामान बरामद गरेको छ ।
त्यस्तै तिलोत्तमा नगरपालिका–३ स्थित शङ्करनगरबाट भारतीय नम्बर प्लेट कारको पछाडी सिटमुनी लुकाइछिपाइ बिलबिजक नभएको सामान इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बरामद गरेको छ । सामान र कारसहित गरी १८ लाख ४० हजार २२८ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ । ल्यापटपको चार्जर झोला, पहेँलो रगको धातुबाट बनेको जस्तो देखिने गाई आकारको मूर्ति, मदिराका बोतल, विभिन्न कम्पनीका मोबाइलको डिस्प्ले र डिस्प्लेका प्याकेट र गमको प्याकेटहरु प्रहरीले उक्त कारबाट बरामद गरेको छ ।
त्यसैगरी मायादेवी गाउँपालिका–५ स्थित गोनाहाबाट लु २२ प १२५७ नम्बरको मोटरसाइकल, उलन लेडिज सुट, उनि सल, काँचो कपडा, लेडिज बाक्लो उलन सुट, काँचो कपडा गरी तीन लाख २२ हजार २०० बराबरको सामान प्रहरी चौकी शिवपुर गोनाहा र प्रहरी चौकी मर्यादपुरबाट खटिएको संयुक्त टोलीले बरामद गरेको छ ।