काठमाडौं । सूचना प्रविधि परामर्श र साइबर सुरक्षा विशेषज्ञ कम्पनी जेनेस सलुसनसँगको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिकाले नवप्रवर्तन केन्द्र (इनोभेसन सेन्टर) सञ्चालनमा ल्याएको छ । नगरपालिकाले सुरु गरेको यो केन्द्र नेपालकै पहिलो प्रकारको नवप्रवर्तन केन्द्र हो ।
शुक्रबार आयोजित कार्यक्रममा स्थानीय युवाका लागि सूचना प्रविधिसम्बन्धी रोजगारी अभिमुख कार्यशालाको दोस्रो चरण सम्पन्न गरिएको हो । कार्यक्रममा जेनेस सलुसनका कार्यकारी निर्देशक भीम ढकालले स्थानीय युवाहरूलाई तालिममा सक्रिय सहभागिता जनाउँदै आफ्ना सीपहरू अभिवृद्धि गर्न आग्रह गरे । ‘आईटी साक्षरता अहिले सबै उमेर समूहका लागि आवश्यक भइसकेको छ, विशेष गरी युवाहरूका लागि,’ उनले भने । ढकालले नगरपालिकाले युवाको सीप विकासलाई प्राथमिकतामा राख्नु सकारात्मक कदम भएको बताए ।
जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले डिजिटल शासनमा देखिएको खाडल हटाउन सके हजारौँ रोजगारी सिर्जना गर्न सकिने बताए । उनका अनुसार जेनेस सलुशनले कागेश्वरी मनोहरा नगरपालिकासँग सहकार्यमा स्थापना गरेको जेनेस प्रविधि तथा उत्कृष्टता केन्द्रमार्फत पहिलो चरण सफलतापूर्वक सम्पन्न भएपछि दोस्रो ब्याच सुरु गरिएको हो । फुयाँलले भने ‘यो केन्द्रले स्थानीय युवालाई उद्योगसँग मेल खाने सीप प्रदान गर्दै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो रोजगारीतर्फको बाटो खोल्ने काम गर्दै आएको छ । दोस्रो ब्याच केवल तालिमको निरन्तरता होइन, यो अवसर सिर्जना र भविष्य निर्माणको अभियान हो ।’
फुयाँलले केन्द्रमार्फत युवाहरूलाई एडब्लुएस, माइक्रोसफ्ट एजर र गुगल क्लाउड जस्ता अन्तर्राष्ट्रिय प्रमाणपत्र पाठ्यक्रमहरूसँग जोड्ने योजना रहेको जानकारी दिए । उनका अनुसार तालिम प्राप्त युवाहरूलाई प्रत्यक्षरूपमा सूचना प्रविधि रोजगारी बजारसँग जडान गर्ने कार्यक्रम अघि बढाइनेछ । ‘प्रविधि भनेको केवल औजार होइन, यो मानिसहरूको विषय हो,’ फुयाँलले भने, ‘त्यसैले हामी सबैले युवाहरूलाई नवप्रवर्तन गर्न, नेतृत्व लिन र अरूलाई प्रेरित गर्न सक्ने अवसर सिर्जना गर्न हातेमालो गर्नुपर्छ ।’ कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नगरपालिकालाई देशकै ‘आईटी हब’ बनाउने उद्देश्यले नवप्रवर्तन केन्द्र स्थापना गरिएको बताए । उनका अनुसार, एसईई उत्तीर्ण भएपछि विद्यार्थीहरूले पढ्दै कमाउँदै गर्न सकून् भन्ने उद्देश्यले कक्षा ९ देखि नै सूचना प्रविधि विषय पढाउने व्यवस्था गरिएको छ ।
नगरपालिकाका वडानम्बर ६ का अध्यक्ष प्रकाश फुयाँलले यस कार्यक्रमले वैदेशिक रोजगारमा निर्भर युवाहरूलाई स्वदेशमै सीप र रोजगारीको विकल्प उपलब्ध गराएको बताए । यसअघि यसै वर्ष साउन महिनामा जेनेस सलुसन र कागेश्वरी मनोहरा नगरपालिकाबीच डिजिटल साक्षरता र कार्यस्थल तत्परता अभिवृद्धि गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको थियो । हालसम्म करिब ७० जना स्थानीय युवा केन्द्रमार्फत विभिन्न प्रविधि तालिमका लागि दर्ता भइसकेका छन् ।