काठमाडौं । नेपाल एसोसिएशन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनिज (नास–आईटी)द्वारा आयोजित ‘टिग नास आईटी एक्स्पो २०२५’ सम्पन्न भएको छ ।
कात्तिक २१ र २२ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा दुई दिनसम्म स्वदेशी प्रविधि कम्पनीहरूको प्रदर्शनी सञ्चालन भएको थियो । दुई दिनसम्म चलेको एक्स्पोले नेपालको डिजिटल इकोसिस्टम विकासका लागि सहकार्य, नवप्रवर्तन र प्रवर्द्धनमा जोड दिएको नास आईटीले जानकारी दिएको छ । प्रविधि र अवसरबीचको पुल निर्माण गर्न आयोजना भएको एक्स्पो समापन भएको नास आईटीका अध्यक्ष गौरव पाण्डेले बताए । ‘एक्सपोमार्फत प्रविधि र अवसरबीचको पुल निर्माण गर्ने उद्देश्य हामीले हासिल गरेका छौं,’ उनले भने, ‘यसले नेपालको आईटी उद्योगका लागि नयाँ मापदण्ड स्थापित गरेको छ ।’
एक्स्पोमा उद्यमी, व्यवसायी, सरकारी अधिकारी, विदेशी नियोग तथा बहुर्राष्ट्रिय कम्पनीका प्रतिनिधि, विद्यार्थीलगायत प्रविधिप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो । दुई दिनको अवधिमा २५ सयभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन् । यस एक्स्पोलाई स्वदेशी आईटी प्रविधि तथा सेवालाई प्रवर्द्धन गर्न आयोजना गरिएको नेपालकै एक ठूलो आईटी तथा व्यावसायिक प्रदर्शनीका रूपमा लिइएको छ । एक्स्पोमा नयाँ प्रोडक्ट लन्च, स्टार्टअप नवप्रवर्तन, सफ्टवेयर सेवाहरूमा विशेष अफर, क्लाउड सोलुसन र डिजिटल उपकरणहरू प्रस्तुत गरिएका थिए । साथै, लाइभ पिच डेक सत्रमार्फत कम्पनीहरूले आफ्ना आइडिया, अफर र सहकार्यका अवसरहरू समेत प्रस्तुत गरेका थिए । प्रदर्शनीमा सहभागी कम्पनी रिप्पल बाइट्सले आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्न र अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी वर्ष पनि सहभागी हुने पनि बताएको छ ।
नास आईटीका अनुसार एक्सपोले नेपालको प्रविधि इकोसिस्टमलाई एकत्रित गर्दै नवप्रवर्तन, उद्यमशीलता र सहकार्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सशक्त बनाउने माइलस्टोनरूपमा आफूलाई स्थापित गरेको छ ।