जनकपुरधाम, भदौ १५
रौतहटको इलाका प्रहरी कार्यालय गरुडाका हिरासतमा मृत्यु भएका विजयराम महराको परिवारलाई प्रदेश नं. २ को सरकारले पाँच लाख रूपैयाँ राहत स्वरूप प्रदान गर्ने भएको छ । प्रहरी हिरासतमा रहेका विजयरामको उपचारको क्रममा गत बिहीबार नेसनल मेडिकल कलेज वीरगञ्जमा मृत्यु भएको थियो । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको दोषीलाई कारबाही गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
गरुडा नगरपालिका– ८ जिगडियाका १९ वर्षीय विजय महरा गरुडास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा बिरामी भएपछि उपचारका क्रममा वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा लगिएको थियो । गाउँकै युवक हत्या आरोपमा साउन ३२ गते पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय गरुडाको थुनाभित्र अनुसन्धानका लागि राखिएको थियो ।
प्रहरीले विजय मिर्गौला रोगी भएको र बिरामी पर्दा उपचारका लागि वीरगञ्ज लैजाँदा मृत्यु भएको बताए पनि विजयले मृत्युअघि प्रहरीले फलामको पाइप र बाँसको भाटाले निर्घात कुटपिट गरेको बताएको भिडियो सार्वजनिक भएका थियो । यो घटनापछि गरुडाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोलाई प्रदेश प्रहरी कार्यालय जनकपुरधाम तानेर प्रदेश प्रहरी कार्यालयले अनुसन्धान सुरु गरेको छ ।