काठमाडौँ, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र अहिले विशेष महाधिवेशन बोलाउने औचित्य नरहेको बताएका छन्। स्व. गणेशमान सिंहको १११औँ जन्मजयन्तीका अवसरमा शनिबार शोभा भगवतीमा आयोजित कार्यक्रममा उनले कांग्रेसले लोकतान्त्रिक मूल्य र प्रणालीमा अडिग रहँदै निर्वाचनमार्फत जनतासामु जानुपर्ने धारणा व्यक्त गरेका छन्। सिंहले भने, “नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो। हामी चुनावमा सहभागी हुन्छौँ। देशको यो सङ्कट कांग्रेसले पार लगाउनेछ।” पछिल्ला दिनमा उठेका विशेष महाधिवेशनको मागबारे उनले टिप्पणी गर्दै भने, “नियमित महाधिवेशन नजिक आइरहेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य छैन। अहिलेको प्राथमिकता देशलाई सङ्कटबाट पार लगाउने र जनताको विश्वास जित्ने हो।” सिंहले हालैको जेनजी आन्दोलनबारे पनि उल्लेख गर्दै, पार्टीले त्यसका मागहरू सम्बोधन गर्न आन्तरिक गृहकार्य गरिरहेको बताएका छन्। उनका अनुसार नयाँ पुस्ताको विचार, ऊर्जा र आकाङ्क्षालाई पार्टी संरचना र नीतिमा समावेश गर्न आवश्यक छ। कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाले स्व. गणेशमान सिंहको लोकतान्त्रिक योगदानको स्मरण गर्दै सालिकमा माल्यार्पण गरेका थिए।