काठमाडौं । नेपाल राष्ट्र बैंकले कारबाही स्वरुप कुमारी र प्राइम कमर्सियल बैंकलाई सचेत गराएको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकतर्फ गरिएको निरीक्षणका क्रममा यी दुई बैंक कारबाहीमा परेको हो ।
कुमारीले कालोसूचीमा परेको ऋणीलाई नियमविपरीत कर्जा दिएको र प्राइमले अनिवार्य नगद मौज्दात कायम नगरेको आधारमा कारबाहीस्वरुप सचेत गराइएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले गरेको कारबाहीसम्बन्धी विवरणमा भनिएको छ, एकीकृत निर्देशन २०८१ को इ.प्रा. निर्देशन नं. १२/०८१ को बुँदा नं. ९ को उपबुँदा नं. २ (ङ) (५) मा उल्लेखित व्यवस्था “कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था छ । यो व्यवस्थाको विपरीत काम गरेको आारमा कुमारी बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) को व्यवस्थाबमोजिम सचेत हो ।
यसैगरी, निरीक्षणका क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८१ को इ.प्रा. निर्देशन नं. २/०८१ को बुँदा नं. १ (ख) बमोजिम केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, सोही निर्देशनको बुँदा नं. ९ को उपबुँदा नंं. (१) बमोजिम केही कर्जाहरुलाई कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरुको जोखिम भार गणना गर्दा यस बैंकबाट जारी क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ बमोजिम जोखिम भार गणना गरेको नपाइएको हुँदा प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकको भनाइ छ ।