दोलखा । जिल्लाको जिरी नगरपालिका–८ मा अवस्थित पुरानो ऐतिहासिक धार्मिक स्थल रामबोलेमा दर्शनार्थीहरुको भीड लागेको छ ।
यस वर्षको कात्तिक पुर्णिमाको अवसरमा सयौं आन्तरिक भक्तजनहरुको मन्दिरमा आगमन भएको हो । लगातार कात्तिक पुर्णिमादेखि पञ्चमीसम्म ५ दिन भव्य मेला तथा बलि पूजा हुने रामबोलेमा यस वर्ष सात हजार बढी आन्तरिक भक्तजनले मन्दिरको दर्शन गरेका छन् । जिल्लाकै ऐतिहासिक पुरानो धार्मिक स्थलको रूपमा परिचित रामबोले कालीदेवी मन्दिरमा प्रत्येक वर्ष तिहारपछिको कात्तिक पुर्णिमादेखि पञ्चमीसम्म पाँचदिन भव्य मेला लाग्ने गर्दछ । कालीदेवी मन्दिरमा भक्तजनहरुले पूजा लगाएर रातभर जागराम बस्ने र बिहान बाजागाजा, फूलमालाका सोलीडोलीसहित पाठी, भाले र परेवाको बलिदिने परम्परा रहेको छ । एक दशक अघिसम्म दर्शनार्थीहरु पैदलमार्ग हुँदै रामबोले आउने गर्थे तर अहिले मन्दिरसम्म सडकको पहुँच पुगेको छ । दर्शनार्थी अहिले सवारीसाधन रिर्जभ गरेर नै मन्दिर पुग्ने गरेका छन् ।
सडकको पहुँच पुगेसँगै पछिल्ला वर्षहरुमा थप चहलपहल बढेको जिरी नगरपालिका–८ का वडा अध्यक्ष कृष्ण कुमार खत्रीले बताए । वडाअध्यक्ष खत्रीका अनुसार कात्तिक पुर्णिमाको दिन कात्तिक १९ गते बुधबार रामबोलेमा दुईसय बढी सवारी र दुई हजार बढी दर्शनार्थी पुगेका थिए । त्यसैगरी, पुर्णिमाको अघिल्लो रात पनि एक हजार बढी दर्शनार्थीले रामबोले जात्रामा आएको उनले बताए । त्यसैगरी, पुर्णिमाको भोलिपल्टदेखि सोमबार पञ्चमीको दिनसम्म पनि दैनिक दर्शालु भक्तजनको भिड लागेको थियो । रामबोलेमा फूलको डोलीसोलीसहित बलि दिए मागेको कुरा पूरा हुने जनविश्वास रहेकोे छ ।