काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्याको तत्काल समाधान गर्ने बताएकी छिन् ।
भक्तपुर क्यान्सर अस्पतालको ३१औँ वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशाला भवनको सोमबार उद्घाटन गर्दै उनले संविधानले सुनिश्चित गरेको निःशुल्क स्वास्थ्यको अधिकारलाई कानुनबमोजिम उपलब्ध गराउन सरकारले पहल गरिरहेको बताइन् । आधारभूत अस्पताल, स्वास्थ्यचौकी तथा अन्य स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध औषधिहरुको प्रभावकारी वितरणका लागि स्थानीय सरकारलाई निर्देशन दिँदै मन्त्री गौतमले स्थानीय सरकारलाई स्वास्थ्य सेवा उपलब्ध गराउन संघीय सरकारले ससर्त अनुदानको व्यवस्था गरेको बताइन् । सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गराउनु रहेकाले यसबाट पछि नहट्ने उनको भनाइ थियो । ‘सरकार समयमै शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध छ, आम मतदातालाई आश्वस्त पार्ने काममा सम्बन्धित सबै पक्षलाई केन्द्रित हुन आग्रह गर्दछौँ’, उनले भनिन् ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर, बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठ, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्जवल चालिसेलगायतले अस्पतालको सेवालाई थप व्यवस्थित गरी प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा अस्पतालमा कार्यरत २५ वर्ष सेवा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पत्रका साथै बेस्ट डिसिप्लेनरी अवार्ड वितरण गरिएको थियो ।