विराटनगर । किरात धर्मका महान् गुरु समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीका अवसरमा मंगलबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रद्धा अर्पण गर्दै शुभकामना व्यक्त गरेका छन् ।
महागुरुको सत्य वचन, अहिंसा, परोपकार र नैतिक जीवनशैलीले नेपाली समाजलाई सहिष्णुता, एकता तथा सद्भावतर्फ अघि बढ्न प्रेरणा दिएको मुख्यमन्त्री कार्कीले बताए । उनले बाल्यकालदेखि नै समाज सुधारमा लागेका महागुरुको योगदानले किरात धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको चर्चा गर्दै कोशी प्रदेश सरकार सबै जात, भाषा, धर्म तथा संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रतिबद्ध रहेको बताए । मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा फाल्गुनन्दको ‘सत्य बोल्ने, अहिंसा अपनाउने, नारीको सम्मान गर्ने’ सन्देश आज पनि जीवनपथका अमूल्य प्रेरणाका स्रोत भएको उल्लेख गरिएको छ ।
उनले यहाँको भाषा संस्कृति लिपिको संरक्षण संवर्द्धनमा कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै संवैधानिक व्यवस्थाअनुसार भाषालाई प्रदेशमा प्रयोगमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।