न्युयोर्क । गर्भवती महिलाहरूले सामान्य दुखाइ कम गर्ने प्यारासिटामोल र उनीहरूबाट जन्मिने बच्चाहरूमा अटिजम समस्या हुने कुरामा कुनै तादात्य नरहेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार अन्यथा दाबी गरे पनि गर्भवती महिलाहरूले सामान्य दुखाइ कम गर्ने प्यारासिटामोल प्रयोग गरेकै कारण उनीहरूबाट जन्मिने बच्चाहरूमा अटिजम समस्या हुने कुरामा कुनै सम्बन्ध नरहेको सोमबार प्रकाशित विद्यमान प्रमाणहरूको सबैभन्दा विस्तृत समीक्षापछि सार्वजनिक रिपोर्टमा भनिएको छ ।
एएफपीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले सेप्टेम्बरमा एसिटामिनोफेन अर्थात् प्यारासिटामोल अटिजमको उच्च दरसँग सम्बन्धित भएको दाबी गरेर चिकित्सा समुदायमा आक्रोश उत्पन्न गरेको थियो । ट्रम्पले गर्भवती महिलाहरूलाई प्यारासिटामोल खानुको सट्टा ‘कडा परिश्रम गर्न’ आग्रह गरेका थिए भने स्वास्थ्य अनुसन्धानकर्ताहरूले टिप्पणीहरूले महिलाहरूलाई दुखाइको उपचार गर्ने सबैभन्दा सुरक्षित विकल्पबाट तर्साउन सक्ने चेतावनी दिएका थिए । उनीहरूले ‘अटिस्टिक’ समस्या भएका व्यक्तिहरूलाई थप कलंकित गर्ने जोखिम बढ्ने दाबी गरेका थिए ।
विश्व स्वास्थ्य सङ्गठनले टाइलेनोल र पानाडोलजस्ता पेनकिलर औषधिको मुख्य तत्व प्यारासिटामोलले अटिजम निम्त्याउँछ भन्ने कुराको कुनै ठोस प्रमाण नभएको बताएको छ । यस विषयमा अहिलेसम्म गरिएका सबै वैज्ञानिक अनुसन्धानहरूको सिंहालोकन ब्रिटिस मेडिकल जर्नल बीएमजेमा सोमबार प्रकाशित भएको छ ।
‘विद्यमान प्रमाणले सन्तानमा गर्भमा रहेका समय महिलाले सेवन गर्ने प्यारासिटामोल र अटिजम वा एडीएचडीबीच स्पष्ट सम्बन्ध देखाउँदैन’, बेलायतको नेतृत्वमा रहेको अनुसन्धानकर्ताको टोलीले समीक्षामा लेखेको छ । यसअघिका केही अध्ययनहरूले प्यारासिटामोल र अटिजम वा अटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर (एडीएचडी)बीच सम्भावित सम्बन्धको सुझाव दिएका थिए ।
‘ती अध्ययनहरूको निचोड ‘निकै कम विश्वसनीय’ थियो’, सोमबार सार्वजनिक समीक्षा रिपोर्टमा भनिएको छ । उनीहरूले परिवारमा अटिजम प्यारासिटामोलका कारण नै भएको वा नभएको भन्नेजस्ता सम्भावित भ्रामक कारकहरूलाई गहिराइमा अध्ययन गरेका थिएनन् वा अध्ययन पुगेको थिएन र यी विवादास्पद अघिल्ला अध्ययनहरूले पनि कसरी प्यारासिटामोलले अटिजम निम्त्याउन सक्छ भनेर तथ्य स्थापित गर्न नसकेका पाइन्छ । समीक्षाहरूको पनि समीक्षाले यो ‘महिला स्वास्थ्य अनुसन्धानमा ऐतिहासिक र निरन्तर कम लगानी’ भएको आँैंल्याउँदै राम्रो अनुसन्धानको लागि आह्वान गरेको छ ।
धेरै शोधकर्ताहरूले नयाँ अध्ययनको प्रशंसा गरे । युनिभर्सिटी कलेज लन्डनमा प्रसूति तथा स्त्री रोग विषयका प्राध्यापक दिमित्रियोस सियासाकोसले यो समीक्षाले विश्वभरका विज्ञहरूले के भनिरहेका छन् भन्ने कुरालाई पुष्टि गरेको बताए । ‘अटिस्टिक र न्यूरोडाइभर्जेन्ट व्यक्तिहरूमा पुरानो दुखाइ हुने सम्भावना बढी हुन्छ र उनीहरूमा न्यूरोडाइभर्जेन्ट बच्चाहरू हुने सम्भावना पनि बढी हुन्छ तर प्यारासिटामोलले न्यूरोडाइभर्जेन्स निम्त्याउँदैन’, पोट्र्समाउथ विश्वविद्यालयका स्टिभन क्यापले भने ।
‘एडीएचडीको साथ एक शोधकर्ता र अटिस्टिक व्यक्तिको रूपमा, मलाई लाग्छ कि हामीले न्यूरोडाइभर्जेन्सलाई रोक्ने प्रयास गर्नु हुँदैन, तर न्यूरोडाइभर्जेन्ट व्यक्तिहरूको जीवनलाई अझ राम्रो बनाउनु पर्छ’, उनले थपे । ट्रम्प र उनका कोभिड खोपमा शंकास्पद विचार राख्ने स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले बारम्बार अटिजमको बारेमा निराधार दाबी गरेका छन्, जसमा प्यारासिटामोल बाहेक कोभिड सङ्क्रमण ‘महामारी’ पनि समावेश छन् । विशेषज्ञहरू भन्छन्, ‘अटिजम दरमा भर्खरको वृद्धि बढ्दो जागरूकताको साथ सुधार, व्यापक निदान विधिहरूको कारण हो ।’