काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा फिर्ता ल्याउने प्रक्रियामा हालसम्म भएको प्रगतिबारे जानकारी मागेकी छिन् । साथै, उनले यसमा दोषी भएकाहरूलाई तत्काल कठघरामा उभ्याउन निर्देशन दिएकी छिन् ।
मंगलबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेललगायतको उपस्थितिमा त्रिविका उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद रिजाल लगायतसँग छलफल भएको थियो । छलफलमा मुख्यसचिव एकनारायण अर्याल र जग्गा खोजबिन समितिका पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
प्रधानमन्त्री कार्कीले जग्गा अपचलनसम्बन्धी प्रतिवेदन सार्वजनिक भएपछि कति जग्गा फिर्ता आयो, फिर्ता हुने प्रक्रिया कसरी अघि बढ्यो र दोषीमाथि कारबाहीको प्रक्रिया केके भयो भनेर जिज्ञासा राखेकी थिइन् । त्रिविका पदाधिकारीहरुले विश्वविद्यालयको जग्गा ओगटेर बसेकाहरुलाई हटाउन र अपचलन भएको जग्गाको लगत कायम गर्न सरकारको सहयोगको अपेक्षा रहेको बताएका थिए ।
जवाफमा प्रधानमन्त्री कार्कीले असम्बन्धित सङ्घसंस्था र व्यक्तिहरुले त्रिविको जग्गा ओगट्ने, बल भएकै आधारमा मिचेर खाने र बेचबिखन गर्ने प्रवृत्ति तत्काल रोक्न निर्देशन दिइन् । उनले यसमा दोषी भएकाहरूलाई तत्काल कठघरामा उभ्याउनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै प्रधानमन्त्री कार्कीले नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगतिबारे चासो व्यक्त गरेकी छन् । मंगलबार नै उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले मन्त्रालयका सचिव हरि मैनालीलाई आफ्नो कार्यकक्षमा बोलाएर प्रगति विवरण माग गरेकी हुन् ।
निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीले सचिव मैनालीकै संयोजकत्वमा गत कात्तिक १४ गते छनोट समिति गठन गरेकी थिइन् । उक्त समितिमा क्याप्टेन केबी लिम्बू विज्ञ सदस्य र मन्त्रालयकै योजना तथा प्रशासन महाशाखा प्रमुख रहने सहसचिव सदस्यसचिव छन् । सचिव मैनालीले यसबीचमा कार्यविधिको काम गरेको र केही समय बाहिर पनि जानुपरेको बताए । प्रधानमन्त्री कार्कीले ढिलो नगरी खुला प्रतिस्पर्धाका लागि दरखास्त आह्वानको सूचना प्रकाशित गर्न निर्देशन दिएकी छन् ।