काठमाडौं । नेपाली चलचित्रहरुले पछिल्लो समय राम्रो व्यापार गर्न थालेका छन् । चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस २ सिनेपा’ को तथ्यांकले चलचित्रहरुले राम्रो आम्दानी गरेको देखाएको हो । गएको शनिबार अर्थात् कात्तिक २२ गतेसम्मको सार्वजनिक तथ्यांकअनुसार सगरमाथाको विषयमा निर्माण गरिएको चलचित्र ‘जेरी अन टप’ ले सबैभन्दा बढी कमाई गरेको छ । उक्त चलचित्रलाई तीन लाख ७५ हजार ८१ दर्शकले हेर्दा ११ करोड ७१ लाख ४१ हजार चार सय ९८ रुपैयाँ कमाई (ग्रस कलेक्सन) गरेको छ । उक्त चलचित्रमा अनमोल केसी, भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गीलगायतका कलाकारले अभिनय गरेका छन् । गत असोज ३१ गतेदेखि प्रदर्शनरत उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन् ।
यस्तै, भाइटीकाका अवसर पारेर गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’ ले सोही अवधि (शनिबार बेलुकी) सम्म दुई करोड ५६ लाख ५७ हजार नौ सय २९ रुपैयाँ कमाएको छ । उक्त चलचित्रलाई ८५ हजार तीन सय ५६ दर्शकले हेरेका छन् । दयाहाङ राई, विजय बराल, समृद्धि अर्याललगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।
यस्तै, कात्तिक ६ मै प्रदर्शन भएको चलचित्र ‘सोल्टिनी’ले भने अपेक्षाभन्दा निकै कमजोर कमाइ गरेको छ । उक्त चलचित्रलाई आठ हजार नौ सय ४५ दर्शकले हेर्दा २९ लाख पाँच हजार नौ सय ५६ रुपैयाँ मात्र कमाइ गरेको छ । प्रकाश सपुत, परीक्षा लिम्बूलगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । निर्देशक सुवेदीले यसअघि निर्देशन गरेको ‘रङ्गेली’ पनि घरेलु बजारमा असफल भएको थियो ।
‘तक्मे बुढा’को उपनामले परिचित अभिनेता विल्सनविक्रम राईले निर्देशन गरेको ‘मैझारो’ले पनि घरेलु बजारमा सफलता प्राप्त गर्न सकेन । अभिनेता राईको पहिलो निर्देशकीय चलचित्र नै असफल भयो । अभिनेता धिरज मगर, मिरुना मगर, दयाहाङ राईलगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रले एक करोड चार लाख २९ हजार दुई सय ८८ रुपैयाँ कमाएको छ । ३५ हजार एक सय ७६ दर्शकले मात्र उक्त चलचित्रलाई हेरेका थिए ।
यस्तै, कात्तिक १४ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘परान’ ले दर्शकको राम्रो साथ पाएको छ । नीर शाह, मदनकृष्ण श्रेष्ठजस्ता दिग्गज अभिनेताले अभिनय गरेको उक्त चलचित्रमा बुबाछोराको कथालाई देखाइएको छ । दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्र दर्शकबाट प्राप्त प्रतिक्रियाकै कारण घरेलु बजारमा राम्रो कमाइ गरिरहेको छ ।
उक्त चलचित्रले तीन करोड ७१ लाख ३६ हजार पाँच सय ५३ रुपैयाँ कमाइ गरेको छ । उक्त चलचित्रलाई एक लाख २८ हजार छ सय ७९ जनाले हेरेका छन् । उक्त चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन् । यस्तै, कात्तिक २१ मा प्रदर्शन भएका दुई चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’ र ‘मनविनाको धन’ लाई दर्शकले प्रारम्भिकरुपमा साथ दिएका छन् । यद्यपि, यी दुईको व्यावसायिक रिपोर्ट अझै सार्वजनिक भइसकेको छैन ।