काठमाडौं, भदौ १५
सानो पाइला नामक संस्थाले कोरोना भाइरस संक्रमण पुष्टि भई नारायणी अस्पतालमा उपचाररत रहेका संक्रमितहरुलाई खाना, औषधिलगायतका अत्यावश्यक सामग्री शय्यामा पु-याउन सहज होस् भन्दै अस्पताललाई सिस्टर रोबोट हस्तान्तरण गरेको छ । राष्ट्रिय आविष्कार केन्द्रको समन्वयमा निर्माण गरिएको सिस्टर रोबोट आइतबार नारायणी अस्पतालका मे.सु. डा. सञ्जय ठाकुरलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । कोभिड अस्पतालमा अब संक्रमितहरुका लागि सिस्टर रोबोटले काम गर्ने भएकी छन् । संक्रमितहरुलाई खाना, पानी, औषधिलगायतका सामग्री पु-याउन अब स्वास्थ्यकर्मी स्वयम् शय्यासम्म जानुपर्नेछैन ।
संक्रमितलाई दिनुपर्ने सामग्री रोबोटमा राखेर स्वास्थ्यकर्मीविना नै संक्रमितसमक्ष पु-याउन सकिनेछ । रोबोट सञ्चालनसम्बन्धी प्रशिक्षण प्राप्त गरेका कुनै एक स्वास्थ्यकर्मीले एउटा कुनामा उभिएर वार्डमा रहेका बिरामीहरुको शय्यासम्म चाहिएका सामग्री पु-याउन सक्नेछन् । सानो पाइलाका रणनीति तथा विकास प्रमुख एवम् भौतिक शास्त्रका वैज्ञानिक विक्रम उपाध्यायले रोबोट सञ्चालनसम्बन्धी अस्पताललाई प्रशिक्षण दिए । ‘संक्रमितहरुसँग स्वास्थ्यकर्मीहरुको सिधा सम्पर्क न्यून गर्न रोबोटले सहयोग पु-याउनेछ’, वैज्ञानिक उपाध्यायले भने, ‘रोबोटका माध्यमले संक्रमितहरुको उपचारमा थप टेवा पुग्नेछ ।’