काठमाडौं । ललितपुर महानगरपालिकाले आगलागी आपतकालीन सूचना प्रणाली सुरुवात गरेको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले पाटन दरबार क्षेत्रमा स्विच जडान गरेर आगलागी आपतकालीन सूचना प्रणालीको सुरुवात गरेका हुन् ।
मंगलबार उक्त प्रणालीको शुभारम्भ गर्दै महानगर प्रमुख महर्जनले आगलागी वा अन्य विपद्का समयमा तत्काल सूचना प्रदान गरी क्षति नियन्त्रण गर्न मद्दत पुर्याउने उद्देश्यले यो प्रणाली जडान गरिएको बताए । ‘हामीले यस प्रणालीलाई परीक्षणस्वरूप सञ्चालनमा ल्याएका छौँ, प्रभावकारी देखिए ललितपुर महानगरका सबै चोकमा विस्तार गर्ने योजना छ । अहिले हामीले नमुना परीक्षण गर्न खोजेका हौँ । यसको कार्यक्षमता परीक्षण गरिँदैछ’, उनले भने । ललितपुर महानगरपालिकाले विपद् व्यवस्थापनका क्षेत्रमा अन्य नगरपालिकाभन्दा अघि बढेर काम गर्दै आएको उनको दाबी थियो । विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्न र आगलागी नियन्त्रणका लागि दुई दमकल किन्ने निर्णय गरिएको उनले बताए । यसअघि सो महानगरपालिकाले विपद् वा आकस्मिक गुनासो सुन्न ११३१ नम्बरको टोल–फ्रि सेवा सञ्चालनमा ल्याइसकेको छ ।
आगलागीबारे जानकारी दिन एलएमसी एपबाट स्विच थिचेको सात सेकेन्डमा महानगरको प्रहरी कन्ट्रोलमा साइरन बज्ने प्रणाली सञ्चालन गर्न विद्युत् आपूर्ति बन्द हुँदा पनि ४८ घण्टासम्मको ब्याकअपका लागि ब्याट्रीको व्यवस्थापन गरिएको अग्निनियन्त्रक राजकुमार ठकुरीले जानकारी दिए । मङ्गलबजारमा जडान गरिएको उक्त प्रणाली बिस्तारै टोलटोल, उद्योग, कलकारखानामा राख्ने तयारी भइरहेको उनले बताए ।