काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छिन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतले प्रधानमन्त्री कार्कीले मन्त्रालयका सचिव हरि मैनालीसँग हालसम्मको प्रगतिबारे जानकारी लिँदै उक्त निर्देशन दिएकी हुन् । निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीले सचिव मैनालीकै संयोजकत्वमा यही कात्तिक १४ गते छनोट समिति गठन गरेकी थिइन् ।
उक्त समितिमा क्याप्टेन केबी लिम्बु विज्ञ सदस्य र मन्त्रालयकै योजना तथा प्रशासन महाशाखा प्रमुख सदस्यसचिव छन् । सचिव मैनालीले यसबीचमा कार्यविधिको काम गरेको र केही समय बाहिर पनि जानुपरेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
निगमद्वारा कर्मचारी कटौती
नेपाल वायु सेवा निगमले कर्मचारी कटौती गरेको छ । निगमले हाल करार सेवा तथा मासिक ज्यालादारीमा कार्यरत छ जना कर्मचारीलाई बिदा दिएको हो ।
निगमका प्रवक्ता अनिल घिमिरले एक विज्ञप्ति जारी गरी मंगलबारदेखि नै लागू हुने गरी कर्मचारी कटौती गरेको जानकारी दिएका छन् । हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेसन तथा उडान सञ्चालन रहेका आन्तरिक स्टेसनबाट हुने उडान संख्यालाई मध्यनजर गरी कर्मचारी कटौती गर्दै लैजाने नीतिअनुरुप उनीहरुलाई हटाइएको निगमले जनाएको छ । निगमलाई चुस्तदुरुस्तरुपमा सञ्चालन गर्दै हालको बदलिँदो परिस्थितिलाई समेत सम्बोधन गर्दै निगमको आर्थिक दायित्वसमेत कम गर्ने उद्देश्यसहित सुधारात्मक कदमको थालनी स्वरुप व्यवस्थापनले उक्त निर्णय गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।