काठमाडौं, निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नदिएको बताएका छन्।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले बुधबार भने, “मलाई आजसम्म सरकारको वा कुनै पनि निकायले स्थानहद गरेको वा पासपोर्ट रोक्का गरेको जानकारी दिएको छैन, न त लिखित रूपमा न मौखिक रूपमा।” उनका अनुसार दुई महिना अघि आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानहद तोकेर राहदानी रोक्का गरिएको भन्ने समाचार माध्यमबाट मात्रै थाहा पाएको बताए।“सरकारले निर्णय गर्‍यो रे भन्ने कुरा मैले समाचारबाट सुनेको हुँ,” उनले भने, “कुन संविधान वा कुन कानुनको आधारमा, किन, कति अवधिका लागि भन्ने बारे मलाई कुनै जानकारी छैन।” पूर्वगृहमन्त्री लेखकले जेनजी आन्दोलनका क्रममा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन अस्वीकार गर्दै, आफूले सुरक्षा निकायलाई शान्तिपूर्ण ढंगले काम गर्न निर्देशन दिएको दाबी गरे।“मैले २२ गते साँझको मिटिङमै भनेको थिएँ— कुनै अप्रिय घटना नहोस्, क्याजुलिटी नहोस्,” उनले भने, “भोलिपल्ट बिहान पनि गृहसचिव र प्रहरी प्रमुखहरूलाई यही कुरा दोहोर्‍याएको छु। नेपाल प्रहरीका महानिरीक्षकले पनि म यही भन्दै गरेको कुरा सञ्चारमाध्यममा स्वीकार गरिसक्नुभएको छ।” लेखकको भनाइ अनुसार, आन्दोलन नियन्त्रणका क्रममा कुनै दमनकारी आदेश प्रधानमन्त्री वा गृहमन्त्रीको तर्फबाट नदिइएको र त्यसको जिम्मेवारी पनि आफूले नलिने स्पष्ट पारेका छन्।