काठमाडौं । परराष्ट्र मन्त्रालयमा हाजिर गर्नेगरी सरकारले बोलाएका ११ राजदूतमध्ये चारजनाले परराष्ट्र मन्त्रालयमा आफ्नो राजीनामा बुझाएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अमेरिका, बेलायत, चीन र कतारका लागि नेपाली राजदूतले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत हुने प्रक्रियामा छ ।
अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी, बेलायतका लागि राजदूत चन्द्रकुमार घिमिरे, चीनका लागि राजदूत कृष्णप्रसाद ओली र कतारका लागि राजदूत रमेशचन्द्र पौडेलले आफ्नो पदबाट राजीनामा दिएका हुन् । कात्तिक १७ गते प्रधानमन्त्री सुशीला कार्कीले कात्तिक २० गतेभित्र परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्ने गरी ११ देशका नेपाली राजदूतलाई बोलाउने निर्णय गरेकी थिइन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कार्कीको नेतृत्वमा गठित सरकारले राजनीतिक कोटामा राजदूत भएकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सर्वोच्च अदालतले कात्तिक १६ गते ११ देशका राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि कात्तिक १७ गते प्रधानमन्त्री कार्कीले परराष्ट्रमन्त्रीको हैसियतमा ११ राजदूतलाई परराष्ट्रमा हाजिर भई कामकाज गर्नेगरी बोलाएकी थिइन् ।
परराष्ट्र मन्त्रालयमा रही काम गर्नेगरी प्रधानमन्त्री कार्कीले बोलाएका राजदूतहरूमा लोकदर्शन रेग्मी (अमेरिका), चन्द्रकुमार घिमिरे (बेलायत), कृष्णप्रसाद ओली (चीन), रमेशचन्द्र पौडेल )कतार), शाहिल रुपाखेती (जर्मनी), दुर्गाबहादुर सुवेदी (जापान), धनप्रसाद पण्डित (इजरायल), नेत्रप्रसाद तिम्सिना (मलेसिया), जंगबहादुर चौहान (रुस), डा. नरेशविक्रम ढकाल (साउदी अरेबिया) र शनिल नेपाल (स्पेन) थिए । यीमध्ये सुवेदी परराष्ट्र सेवाबाट अवकाश प्राप्त सहसचिव हुन् भने बाँकी सबै राजनीतिक कोटामा राजदूत भएकाहरु थिए ।