काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँको ४२ करोड थान नयाँ नोट छाप्नको लागि चिनियाँ कम्पनीसँग करार सम्झौता गरेको छ ।
राष्ट्र बैंकका अनुसार ५० रुपैयाँ दरको ४२ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्तिको लागि मंगलबार चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड माइनेटिङ कर्पोरेसन बेइजिङ चाइनासँग करार सम्झौता गरिएको हो । रकम छपाइका लागि राष्ट्र बैंकले उक्त चाइनिज कम्पनीलाई अमेरिकी डलर एक करोड चार लाख २२ हजार पाँच सय ३५ दशमलव २१ डलर भुक्तानी दिनुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार सार्वजनिक खरिद (चौधौं संशोधन, २०८२) नियमावली, २०६४ को दफा १३७ तथा नोट छपाइ तथा सिक्का टकमरीसम्बन्धी निर्देशिका, २०६५ (दोस्रो संशोधन २०८१ मिलाइएको रुपमा) को दफा ५४ को व्यवस्थाबमोजिम सर्वसाधारणका लागि नोट छपाइसम्बन्धी जानकारी दिइएको हो ।