काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी कटौती सुरु गरेको छ । मंगलबार ६ जना कर्मचारीलाई निगमले बिदा दिएको हो । उनीहरुको करार अवधि सकिएसँगै करार अन्त्य गरिएको निगमले जनाएको छ ।
‘निगमले सञ्चालन गर्दै आएका आन्तरिक स्टेसनहरूमध्ये हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेसन तथा उडान सञ्चालन रहेका आन्तरिक स्टेसनबाट हुने उडान संख्यालाई मध्येनजर गरी कर्मचारी कटौती गदै लगिनेछ’, निगमले भनेको छ, ‘निगमलाई चुस्त दुरुस्त रुपमा सञ्चालन गर्दै हालको बदलिँदो परिस्थितिलाई समेत सम्बोधन गर्दै निगमको आर्थिक दायित्व समेत कम गर्ने उद्देश्यसहित सुधारात्मक कदमको थालनी स्वरुप व्यवस्थापनले उक्त निर्णय गरेको छ ।’
उडानमा फर्कियो ट्विनअटर
यसैबीच, नेपाल वायुसेवा निगमको नाइनएन–एबीटी (ट्विनअटर) जहाज व्यावसायिक उडानमा फर्किएको छ । मर्मतका लागि ग्राउन्डेड गरिएको ट्विन अटर डीएचसी–६ जहाज सो कार्य सकेसँगै रिलिज गरिएको निगमले उल्लेख गरेको छ ।
गत सेप्टेम्बरदेखि इन्जिन मर्मत तथा वार्षिकी जाँचका लागि ग्राउन्डेड गरिएको थियो । आवश्यक मर्मत सकेसँगै यही कात्तिक २४ मा परीक्षण उडान समेत सफलतापूर्वक सम्पन्न भएको निगमले जनाएको छ । परीक्षण उडान सफल भएसँगै २५ गतेदेखि आन्तरिकतर्फ व्यावसायिक उडान सुरु गरिएको निगमले जनाएको छ ।