दोलखा । जिल्लाको जिरी नगरपालिकाको पुँजीगत खर्च १७ प्रतिशतले वृद्धि भएको छ । जिरी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आव २०८०/८१ को भन्दा १७ दशमलव ७६ प्रतिशतले बढी पुँजीगत खर्च गरेको हो ।
नगरपालिकाले बुधबार गत आर्थिक वर्ष २०८१/८२ मा कार्यान्वयन गरेका नगरका योजना तथा कार्यक्रमहरुको वार्षिक समीक्षा प्रतिवेदन सार्वजानिक गरेको छ । सो प्रतिवेदनअनुसार नगरले आव २०८१/८२ मा विनियोजन गरेको पुँजीगत खर्चतर्फको १६ करोड ९५ लाख ९८ हजार नौ सय रुपैयाँमध्ये १३ करोड ६५ लाख १३ हजार चार सय रुपैयाँ अर्थात् ८० दशमलव ५० प्रतिशत बजेट खर्च गरेको छ । जुन खर्च अघिल्लो आवको भन्दा १७ दशमलव ७६ प्रतिशतले बढी हो । अघिल्लो आवमा नगरले ६२ दशमलव ७४ प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सफल भएको थियो ।
त्यसैगरी, नगरले चालू खर्च अघिल्लो वर्षको तुलनामा तीन दशमलव २१ प्रतिशतले घटाएको जनाएको छ । नगरले चालू खर्चतर्फ विनियोजन गरेको ३९ करोड ३० लाख ३४ हजार एक सयमध्ये ३० करोड २५ लाख ५६ हजार आठ सय ४४ रुपैयाँ अर्थात् ७६ दशमलव ९७ प्रतिशत बजेट खर्च गरेको हो । समीक्षा अवधिको अघिल्लो वर्ष नगरले कुल बजेटको ८० दशमलव १८ प्रतिशत चालू खर्च गरेको थियो ।
नगरको चालू तथा पुँजीगत दुवैतर्फको खर्च भने ७८ दशमलव ०४ प्रतिशत रहेको छ । त्यसैगरी, नगरपालिकाले गत आर्थिक वर्ष संघीय सरकारबाट समानीकरण, ससर्त र समपूरक गरी ३१ करोड ६४ लाख ७७ हजार रुपैयाँ, प्रदेश सरकारबाट सोही शीर्षकमा चार करोड ८४ लाख ३४ हजार चार सय रुपैयाँ र राजस्व बाँडफाँटबाट १० करोड पाँच लाख ६४ हजार रुपैयाँ प्राप्त गरेको थियो ।
यस्तै, बैंक मौज्दात छ करोड चार लाख ७२ हजार पाँच सय रुपैयाँ र आन्तरिक राजस्व ८४ लाख ४१ हजार आठ सय ९२ रुपैयाँ गरी ५३ करोड ४३ लाख ९० हजार तीन सय १२ रुपैयाँ आम्दानी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । नगरले आव २०८१/८२ मा कृषि, उद्योग, पर्यटन, वित्तीय क्षेत्र, जलस्रोत तथा सिँचाइ, वन र पशुपन्छी विकासमा ५० दशमलव २० प्रतिशत बजेट खर्च गरेको छ । त्यसैगरी, सामाजिक विकास तथा शिक्षा, स्वास्थ्य, खानेपानी, युवा तथा खेलकुद र सामाजिक सुरक्षा तथा संरक्षणमा ८२ दशमलव ३८ प्रतिशत पूर्वाधार विकासमा ८१ दशमलव ९५ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ६५ दशमलव ४४ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ७४ दशमलव १४ प्रतिशत बजेट खर्च गरेको जनाएको छ ।