काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले देशका प्रमुख सीमा नाकाहरूमा सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । बदलिँदो सुरक्षा चुनौती र राजस्व वृद्धि गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले सीमामा कडाइ गरेको हो ।
सशस्त्र प्रहरीले देशका प्रमुख सीमा नाकाहरूमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरू (एसएसपी) खटाएको सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । सीमा क्षेत्रमा खटाइएका वरिष्ठ उपरीक्षकहरूले सम्बन्धित प्रदेशअन्तर्गतका सीमा नाकामा रहँदै सशस्त्र प्रहरी बलका बाहिनी मुख्यालयसँग समन्वय गरी तोकिएको इकाईमा जिम्मेवारी निर्वाह गर्नेछन् । उनीहरूले दैनिक तथा साप्ताहिकरूपमा आफ्नो कार्यसम्पादन विवरण सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा प्रतिवेदन गर्ने व्यवस्था गरिएको थापाले बताए ।
निर्धारित अवधिमा उनीहरूले गरेका कार्य प्रभावकारी देखिएमा संगठनले सो प्रणालीलाई निरन्तरता दिने जनाइएको छ । साथै, आवश्यकताअनुसार अन्य वरिष्ठ उपरीक्षकहरूलाई समेत रोटेसन आधारमा खटाइने भएको छ । सीमा क्षेत्रमा कुनै पनि सूचना, खबर वा गुनासो भएमा सर्वसाधारण नागरिकले पनि खटाइएका वरिष्ठ उपरीक्षकहरूलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन् । खटाइएका अधिकारीहरूले सम्बन्धित सीमा क्षेत्रमा रही राजस्व चुहावट, चोरी–निकासी, पैठारीलगायतका गैरकानुनी क्रियाकलाप नियन्त्रणमा ध्यान दिने प्रवक्ता थापाले जानकारी दिए ।
त्यस्तै, लागुऔषध, हातहतियार ओसारपसार, फरार अपराधी नियन्त्रणलगायत गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाइनेछ । साथै, भन्सार, राजस्व अनुसन्धान, उद्योग वाणिज्य संघ, स्थानीय निकाय, व्यापारी र सर्वसाधारणसँग समन्वय गरी सीमा अपराध नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिने जनाइएको छ । यसले भन्सार नाकाबाट वैध तरिकाले सामान आयात गर्ने प्रचलन सुदृढ गर्न, भन्सार तथा अन्य निकायहरूसँग सहकार्यमा पारदर्शी र कानुनी व्यापारिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
सशस्त्र प्रहरीले कोशी प्रदेशको प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा (झापा) र रानी (मोरङ) क्षेत्रको निगरानीका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदी, मधेश प्रदेश नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज (पर्सा) क्षेत्रको निगरानीका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेल, लुम्बिनी प्रदेशको प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (रुपन्देही), कृष्णनगर (कपिलवस्तु) र जमुनाह (बाँके) क्षेत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजीत र सुदूरपश्चिम प्रदेशको प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर (कैलाली) र गड्डाचौकी (कञ्चनपुर) क्षेत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठलाई खटाएको छ ।