काठमाडौं । कुमारी बैंकले ‘ग्रीन सेभिङ्स डिपोजिट अकाउन्ट’ नामक निक्षेप योजना ल्याएको छ । दिगो विकासका लक्ष्य प्राप्तिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई आफ्नो सेवा, सुविधा, प्रक्रिया तथा व्यावसायिक साझेदारीमार्फत टेवा पुर्याउने उद्दश्यले यो खाता ल्याइएको बैंकले जनाएको छ ।
बैंकका अनुसार ‘एक खाता एक रुख’ सिद्धान्तमा आधारित यो योजनाअन्तर्गत खोलिने हरेक खाताबापत एक रुख बैंकका तर्फबाट रोपिनेछ । यसबाट प्रत्येक निक्षेपकर्ताकोे पर्यावरण संरक्षण तथा प्रवर्द्धनमा अप्रत्यक्षरुपमा सहभागिता रहनुका साथै खातावालले निम्नानुसारका आकर्षक सुविधा समेत प्राप्त गर्ने बैंकले जनाएको छ । साधारण बचत खाताको भन्दा शून्य दशमलव २५ प्रतिशत अधिक ब्याजदर, एक लाखसम्मको बीमा सुविधा, दुई वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा, दुई लाखसम्मको फोनलोन सुविधा (योग्यताअनुसार), यस योजनाअन्तर्गत खोलिएका प्रत्येक खाताबापत एक रुख रोपिने कम्पनीले जनाएको छ ।