काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त भएका छन् । कात्तिक २४ गते सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकको निर्णयानुसार आचार्यलाई मिति २०८२ माघ १२ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
स्थायी ठेगाना ललितपुरमा बस्ने आचार्य, २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रही बैंकिङ क्षेत्रमा २१ वर्ष लामोे अनुभव संगालेका छन् । हाल उनी सानिमा बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका छन् । यसअघि पनि बैंकको १० वटा विभागमा उनले विभागीय प्रमुखका रुपमा राम्रो अनुभव बटुलेका थिए । उनको कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञता रहेको छ । साथै, उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा सञ्चालक समितिमा अध्यक्षका रुपमा कार्यरत रहेका छन् । यसबाहेक पनि उनको प्रोडक्सन इन्जिनियरमा चार वर्ष र भिजिटिङ फ्याकल्टीमा पाँच वर्षको अनुभव रहेको छ ।
आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र एमएनआईटी जयपुरमा इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन् । साथै, शैक्षिक उपलब्धिमध्ये राष्ट्रव्यापी एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेका छन् । उनको कार्यकालमा बैंक थप सफलताको उचाइमा पुग्न सफल हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।