काठमाडौं । होटल पौवाले आफ्नो १६औँ शाखा चितवनको भरतपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको उद्घाटनसँगै तीन दिनसम्म बृहत् नेपाली खाना प्रवद्र्धन कार्यक्रम हुने भएको हो ।
होटल पौवाको ब्रान्डिङ विभाग प्रमुख विष्णु भण्डारीका अनुसार कात्तिक २७, २८ र २९ गतेसम्म चल्ने उक्त बृहत् नेपाली खाना प्रदर्शनीमा देशभरका पौवाका शाखाबाट आएका सेफहरुले आफूले तयार पारेका खाद्य कला पस्किनेछन् । उद्घाटन समारोह र खाना प्रवर्द्धनका लागि चितवन, नवलपुर र आसपासमा झण्डै ४० हजार पाहुनालाई निमन्त्रणा गरिएको छ । पौवाको विशिष्ट स्वाद, नेपालीपनको सेवा र आतिथ्यको वास्तविक अनुभव सहभागीहरूले प्रत्यक्षरूपमा लिन सक्ने उनले बताए । भरतपुर शाखामा १७ वटा लक्जरी कोठासहितको छुट्टै ब्लक रहेको छ । आकर्षक रेस्टुरेन्ट, बालबालिकाका लागि खेल्ने ठाउँ, सुन्दर गार्डेन र प्रशस्त पार्किङ सुविधा रहेको छ । विवाह, व्रतबन्ध तथा कर्पोरेट कार्यक्रमका लागि दुई वटा विशाल हल, साना बैठक र पारिवारिक भेटघाटका लागि १० वटा फरक–फरक क्षमताका हल उपलब्ध छ । निकट भविष्यमै थप १२ कोठाको सुविधा सम्पन्न आवास भवन निर्माणको चरणमा छ । यसका साथै, सौराहा, मौलाकाली, मनकामना र अन्य धार्मिक तथा पर्यटकीय गन्तव्यहरु समेटिएका विशेष टुर प्याकेजहरु पनि शाखाले प्रदान गर्नेछ ।
होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले चुनौतीपूर्ण लगानी वातावरणका बीच पनि पौवाले पर्यटन र आतिथ्य व्यवसायलाई देशव्यापीरूपमा विस्तार गरिरहेको बताए । उनले नेपाल पर्यटकीय सम्भावनाले भरिएको मुलुक रहेकाले यहाँ आउने हरेक पर्यटकलाई पहिलो अनुभव नै हस्पिटालिटीको हुनुपर्ने बताए । होटल पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेले नेपाली स्वादलाई विश्वस्तरमा पुर्याउने अभियानमा पौवा अघि बढिरहेको बताए । उनले नेपालमा ‘केही हुँदैन’ भन्ने सोच तोड्नुपर्ने समेत जनाए । विषम परिस्थितिमा पनि एक सय शाखा विस्तार गर्ने लक्ष्यसहित नेपाली चेन होटललाई अन्तर्राष्ट्रियकरणतर्फ डोर्याइरहेका उनको भनाइ छ ।
रुपन्देहीको सालझण्डीबाट सुरु भएको पौवाको यात्रा चितवनमा १६औँ शाखासम्म पुगेको छ । यसअघि पौवाका शाखाहरु भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, रेसुङ्गा, धनगढी, पोखरा, काठमाडौं, मुलकोट र कालिञ्चोकमा सञ्चालनमा छन् । हाल नेपालगञ्जमा पाँचतारे होटलको मुख्य आवास भवन निर्माणाधीन अवस्थामा रहेको छ भने ब्याङ्क्वेट र रेस्टुरेन्टबाट सेवा दिइरहेको छ । पाल्पाको झिंगामारामा पाँचतारे रिसोर्ट निर्माणका लागि ल्यान्डस्केपिङको काम भइरहेको छ ।