गुल्मी । आजदेखि सातामा चार पटक रेसुङ्गा विमानस्थलमा हवाई उडान सुरु भएको छ । बिहीबारदेखि पुनः नियमित रुपमा साताको चार पटक हवाई उडान सुरु भएको नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाले जानकारी दिए । विगत पाँच महिनादेखि नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि जिल्लामा सातामा एक पटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो । अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार पश्चात पुनः सातामा चार पटक उडान तालिका सुरु गरिएको प्रमुख थापाले बताए । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले अबदेखि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरेर सातामा चार पटक उडान गर्ने भएको हो । सो विमानस्थलमा नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्वीनअटर जहाजले काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुङ्गाबाट बिहान ७ः३० बजे हवाई उडान गर्दै आएको छ । काठमाडौंबाट गुल्मीका लागि सात हजार ५०० र गुल्मीबाट काठमाडौँका लागि सात हजार ३०० भाडादर निगमले निर्धारण गरेको छ । दिउँसोको समयमा रेसुङ्गा विमानस्थलमा अत्याधिक मात्रामा हावाको चाप हुने भएका कारण प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान गर्नुपरेको निगमले जनाएको छ ।