काठमाडौं । लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइन संरचनाबाट विद्युत् उपभोग गरेका ३५ उद्योगले प्रिमियम महसुल बक्यौता तिर्न थालेका छन्।नेपाल विद्युत् प्राधिकरणका अनुसार तीमध्ये २५ नयाँ उद्योगले पहिलो किस्ता तिरेका छन्, भने यसअघि बक्यौता तिर्न सुरु गरी बीचमा रोकिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका छन्। प्राधिकरणले हालसम्म ३५ उद्योगबाट जम्मा २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको छ। यी उद्योगहरूको कुल बक्यौता ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो। यसअनुसार हालसम्म ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ बक्यौता रकम अझै असुल गर्न बाँकी छ। यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाख सम्म डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापतको प्रिमियम महसुल अन्तर्गत पर्छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले उद्योगीहरूले राज्यप्रतिको दायित्व सम्झिएर बक्यौता तिर्न थालेकोमा धन्यवाद व्यक्त गरेका छन्। उनले भने, “उद्योगहरूलाई विद्युत् नियमन आयोग र अदालतमा जाने बाटो खुला छ। तर, किस्ताबन्दी तिर्न थालेपछि त्यसको पालना गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ। उद्योगीहरूका जायज मागलाई सम्बोधन गर्न हामी सधैं तयार छौं।” प्राधिकरणले यसअघि असोजमा २१ दिनको समय सीमा दिएर बक्यौता तिर्न सार्वजनिक सूचना जारी गरेको थियो। तोकिएको अवधिमा पनि रकम नतिरेपछि ४ र ७ कात्तिकमा दुई चरणमा विद्युत् लाइन काटिएको थियो।