काठमाडौं । नेपाल संसारको नक्सामा सानो भए पनि सम्भावनाको हिसाबले असीमित देश हो । हिमाल, पहाड र तराई मिलेर बनेको यो देश भौगोलिक रूपमा विविध, प्राकृतिक रूपमा सुन्दर र सांस्कृतिक रूपमा धनी छ । नदीनाला, वनजंगल, फाँट–फँडानी, बस्ती र भेषभूषा सबैले नेपाललाई अनौठो र आकर्षक बनाएका छन् । विभिन्न जातजाति, भाषा र संस्कृतिहरूको सहअस्तित्वले ‘विविधतामा एकता’को सन्देश दिएको छ ।देश विकासमा नागरिककै भूमिका महत्वपूर्ण हुन्छ । उपजाऊ भूमि, मेहनती जनता र प्राकृतिक स्रोत–साधन भएको देशले यदि सही दिशा रोज्यो भने अबको नेपाल अझ हराभरा र समृद्ध बन्न सक्छ । विगतमा जे बिग्रियो, अहिले त्यसलाई सुधार्दै नयाँ सोच, नयाँ जोश र नयाँ प्रविधिको सहायताले अघि बढ्नु आजको आवश्यकता हो । नेपालमा अझै पनि सज्जन, इमानदार र देशप्रेमी मानिसहरूको कमी छैन ।१. शिक्षा क्षेत्रमा सुधार
देशको भविष्य शिक्षामा निर्भर हुन्छ । गुणस्तरीय र व्यावहारिक शिक्षा प्रणालीले सक्षम जनशक्ति उत्पादन गर्छ । सरकारी विद्यालयहरूमा सुधार, प्राविधिक शिक्षा, व्यावसायिक सीप, अनुसन्धान र ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच विस्तार गर्नु अत्यावश्यक छ ।
देशको माटो अनुसारको शिक्षा प्रदान गर्नुपर्छ । रोजगार र स्वरोजगार दिने शिक्षाको विकास थालनी गर्नुपर्छ । शिक्षामा लगानी गरी विदेशी विद्यार्थीलाई पनि नेपालमै पढ्न आउने वातावरण सिर्जना गर्नुपर्छ । सबैका लागि शिक्षाको नारा दिनुपर्छ ।
२. प्रविधिको विकास र डिजिटल समाज निर्माण
नेपालमा साना–ठूला धेरै कुरामा आजको दिनसम्म प्रविधिले छोएको छैन, तर यो गर्न नसकिने कुरा होइन । साना–साना कुरा जस्तै आजसम्म पनि इम्बोस नम्बर नभएको, ट्राफिक विभागले स्पीड मापनमा म्यानुअल प्रणाली प्रयोग गरेको, सरकारी कार्यालयहरूमा कागजी फाइल प्रणाली कायम भएको र सीसीटीभी क्यामेरा सबै ठाउँमा नभएको जस्ता साना–साना कुराले प्रविधिमा पछाडि परेको देखिन्छ ।
यदि यी सबैमा डिजिटल प्रविधि लागू गरियो भने पारदर्शिता, सुशासन र जनसेवा प्रणालीमा उल्लेखनीय सुधार आउँछ । राज्यलाई कर पनि उचित तरिकाले आउँछ र कुनै बाधा बिना नै राजस्व संकलन हुन सक्छ ।
३. कर्मचारी प्रशासनमा मनोबल वृद्धि
कर्मचारी तन्त्र नै राष्ट्रको मेरुदण्ड हो । कार्यसम्पादन मूल्यांकन गर्न आवश्यक छ । सबै कार्यालयमा डिजिटल प्रणाली लागू गर्नुपर्छ । सेवा–ग्राहीलाई उचित समयमा सेवा दिनुपर्छ ।
सक्षम, इमानदार र सेवामुखी कर्मचारीले देशको विकासमा प्रत्यक्ष योगदान पुर्याउँछन् । उनीहरूलाई सम्मान गरी, नराम्रा कर्मचारीलाई कारवाही गर्दा असल मानिसहरूको मनोबल बढ्छ । त्यसका लागि उनीहरूको मनोबल बढाउने, उचित पारिश्रमिक दिने र योग्यताका आधारमा पदोन्नति गर्ने नीति अवलम्बन गर्नुपर्छ । ‘तेरो र मेरो’ भन्ने सोच त्यागी सक्षमलाई अगाडि ल्याउन सके जनता पनि खुसी हुन्छन् र कर्मचारी पनि उच्च मनोबलका साथ काम गर्न तत्पर हुन्छन् ।
४. सुरक्षाको सुदृढीकरण
शान्ति बिना राज्य चल्दैन । जहाँ असुरक्षा हुन्छ, त्यहाँ मानिस बस्न चाहँदैन । शान्ति र सुरक्षा दिनु राज्यको दायित्व हो ।
शान्ति र स्थायित्व बिना विकास पनि सम्भव छैन । सुरक्षानिकायहरूलाई अझ सशक्त, आधुनिक र उर्जावान बनाउँदै सामाजिक शान्ति कायम गर्नु आजको आवश्यकता हो । प्रहरी, सेना र सशस्त्र बलबीच आपसी सहकार्य र प्राविधिक सुदृढता आवश्यक छ ।
आम नागरिकले आफ्नै देशमा शान्तिपूर्वक बाँच्न पाए देशको विकासको ढोका सजिलै खुल्छ । शान्ति र सुरक्षा बिना उद्योग–धन्दा सम्भव छैन ।
५. खेलकुद र युवाशक्ति
युवाशक्तिलाई देशमै राख्न र उनीहरूको ऊर्जालाई सदुपयोग गर्न खेलकुदको व्यवस्थापन गर्नुपर्छ । खेलकुद युवाको अनुशासन, स्वास्थ्य र आत्मविश्वासको आधार हो । खेललाई जीवनको अभिन्न अङ्गको रूपमा स्वीकार गर्दै खेलकुद पूर्वाधार, प्रशिक्षण र प्रतियोगिताहरूमा लगानी गर्नुपर्छ । यसले युवाशक्तिलाई सकारात्मक दिशामा लगेर राष्ट्रिय गौरव बढाउँछ र विश्व बजारमा पुग्ने अवसर पनि प्रदान गर्छ ।
६. साना–साना रोजगारी सिर्जना
देश विकासका लागि युवालाई देशमै रोक्न आवश्यक छ । साना–साना उद्योग, कृषि व्यवसाय, हस्तकला र सूचना प्रविधिमा आधारित रोजगारी सिर्जना गर्न सके युवाले विदेश जानुपर्ने आवश्यकता घट्छ । स्वदेशमै आत्मनिर्भर युवापुस्ताको निर्माण सम्भव हुन्छ ।
७. पर्यटनको विकास
नेपालको पहिचान नै पर्यटन हो । हिमाल, झरना, गुफा, ऐतिहासिक स्थल र सांस्कृतिक सम्पदाले पर्यटकलाई आकर्षित गर्छन् । आन्तरिक तथा बाह्य दुवै पर्यटन विकास गर्न सके देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्छ ।
८. कृषिपर्यटन र ग्रामीण विकास
नेपालको कृषि परम्परागत रूपमा बलियो छ । आधुनिक प्रविधि र कृषिपर्यटनको संयोजनले ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउन सक्छ । गाउँमै खेती, पशुपालन र पर्यटक स्वागतबाट आम्दानी र रोजगार दुबै बढ्न सक्छ ।
विश्वका धेरै देशमा कृषिपर्यटनले ठूलो स्थान लिएको छ । परम्परागत खेती हेर्नका लागि पनि धेरै पर्यटक आउने गर्छन् । यसले ग्रामीण विकास गर्न थप मद्दत पुर्याउँछ ।
९. आन्तरिक र बाह्य पर्यटन विस्तार
नेपालमा आजकल आन्तरिक पर्यटनको विकास भइरहेको पाइन्छ । पदयात्रा देखि हिमालका चुचुरा अवलोकन गर्न धेरै मानिसहरू विभिन्न ठाउँमा जाने गर्छन् । अझ हामीले देशभित्रका नागरिकलाई आफ्नै देशका सौन्दर्य र संस्कृति बुझाउने गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुपर्छ । यसले स्थानीय स्तरमै विकास हुन्छ र रोजगारी तथा व्यापारमा समेत टेवा पुग्छ । साथै, अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रचार–प्रसार र लगानीमैत्री पर्यटन नीति ल्याउन सकिन्छ । अन्तर्राष्ट्रिय स्तरका ठूला पर्यटकलाई नेपाल भित्र्याउन सके ठूलो मात्रामा वैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ ।
१०. सामाजिक कार्यमा युवाको अग्रसरता
समाज र देश विकासमा युवालाई अग्रसर गरिनुपर्छ । आजका युवाहरू समाजसेवा, सरसफाइ, रक्तदान, शिक्षाको पहुँच र जनचेतनामूलक अभियानमा सक्रिय छन् । उनीहरूको ऊर्जा र उत्साहलाई राष्ट्रिय विकाससँग जोड्न सके समाजमा स्थायी सकारात्मक परिवर्तन सम्भव छ ।
स्थानीय सरसफाइ, बाटोघाटो निर्माण र साना–साना रोजगार सृजना हुने काममा पनि युवालाई लगाउनुपर्छ । यसले स्थानीय स्तरमै रोजगार उपलब्ध गराउँछ ।
११. विदेशी लगानी र रोजगारी सिर्जना
नेपाल जलस्रोतको धनी राष्ट्र हो । नेपालमा जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधारमा लगानीका ठूलो सम्भावना छन् । यदि स्थिर नीति, कानुनी पारदर्शिता र लगानीमैत्री वातावरण बनाइयो भने विदेशी लगानीकर्ताको विश्वास बढ्नेछ र रोजगारी पनि बढ्नेछ । यसको लागि राज्यले एकता र दृढ संकल्प लिन आवश्यक छ ।
१२. युवालक्षित कार्यक्रम सञ्चालन
युवापुस्तालाई सीपमूलक, उद्यमशील र स्वावलम्बी बनाउन युवालक्षित तालिम, स्टार्टअप अनुदान र उद्यम विकास कार्यक्रम सञ्चालन गर्नुपर्छ । युवाको जोश र नवप्रवर्तनशील सोच देश निर्माणको प्रमुख शक्ति बन्न सक्छ ।
१३. महिला, बालबालिका र वृद्ध लक्षित कार्यक्रम
महिला तथा बालबालिकालाई उचित अवसर दिनुपर्छ । समाजको हरेक तहको उत्थानका लागि महिला, बालबालिका र वृद्धको सशक्तीकरण आवश्यक छ । उनीहरूका लागि स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र आत्मनिर्भरता प्रवद्र्धन गर्ने कार्यक्रमले सामाजिक न्याय र समानताको भावना बलियो बनाउँछ ।
१४. कृषि क्षेत्रको आधुनिकीकरण
नेपालमा राम्रो गर्न सकियो भने सुन फलाउन सकिन्छ । नेपालको आर्थिक मेरुदण्ड नै कृषि हो । तर भनिएअनुसार कृषिलाई माथि ल्याउन सकिएको छैन । किसानले उचित मूल्य पाएका छैनन् ।
आधुनिक प्रविधि, उन्नत बीउबिजन, सिंचाइ सुविधा र बजार व्यवस्थापनका माध्यमबाट उत्पादन वृद्धि गर्न सकिन्छ । यसले युवालाई कृषिप्रति आकर्षित गर्नेछ र आम्दानी बढाउनेछ ।
१५. खेतीयोग्य जमिनको संरक्षण र निर्यात प्रवद्र्धन
नेपालमा कृषिबाट मनग्य आम्दानी गर्न सकिन्छ । पहाडमा समेत खेती गरी निर्यात गर्न सकिन्छ, तर जग्गा धेरै ठाउँमा बाँझै छन् । नयाँ प्रविधि र सिंचाइको अभावले किसान चिन्तित छन् ।
खेतीयोग्य जमिनको पहिचान गरी त्यसमा मूल्यवान उत्पादन (जस्तैः फलफूल, तरकारी, जैविक उत्पादन) गरेर निर्यातमा जोड दिन सकिन्छ । यसले विदेशी मुद्रा आम्दानी र ग्रामीण विकासमा योगदान पुर्याउँछ । पशुपालनमा पनि जोड दिन सकिन्छ र निर्यातसमेत गर्न सकिन्छ ।
१६. जनतालाई न्यूनतम सेवा उपलब्ध गराउने नीति
राज्यले प्रत्येक नागरिकलाई शिक्षा, स्वास्थ्य, पानी, बिजुली, यातायात र सरसफाइ जस्ता न्यूनतम सेवाहरू सुनिश्चित गर्नुपर्छ । नागरिकको जीवनस्तर उकास्न यो राज्यको प्रमुख जिम्मेवारी हो ।
सहरमा समेत सुविधा छैन, त्यसको तत्काल व्यवस्था गर्नुपर्छ । सार्वजनिक शौचालय, सार्वजनिक उद्यान, बाल उद्यान, मनोरञ्जनका स्थलहरू प्रत्येक टोल–टोलमा बनाउनुपर्छ । जनता खुसी हुन्छन् ।
१७. सार्वजनिक यातायात र स्वास्थ्य सुधार
सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित र समयमै सञ्चालन गर्ने व्यवस्था गर्नुपर्छ । साथै, स्वास्थ्य क्षेत्रमा सुधार ल्याएर अस्पताल, औषधि र स्वास्थ्य सचेतना कार्यक्रम बढाउन जरुरी छ ।
नशा नियन्त्रण, सरसफाइ र स्वच्छ आचरण प्रवद्र्धनले सभ्य समाज निर्माणमा सहयोग पुर्याउँछ ।
१८. भ्रष्टाचारमुक्त समाज निर्माण
भ्रष्टाचारमुक्त समाजको निर्माण गर्नुपर्छ । आचरणमा शुद्धता आयो भने समाजमा शान्ति आउँछ । काम गरेर खाने बानी बसाल्नुपर्छ, नभए भ्रष्टाचारीसँग धेरै सम्पत्ति भए पनि इमानदारसँग केही नहुँदा समाज विभाजित हुन्छ ।
निष्कर्ष
नेपाल प्राकृतिक, सांस्कृतिक र मानवीय दृष्टिले असीम सम्भावनाको देश हो । यहाँको हावा, पानी, मौसम, जनशक्ति र सम्पदाले स्वर्गीय आनन्द प्रदान गर्छ । यद्यपि कठिनाइहरू छन्, तर मेहनत, इमानदारी र सही सोच भए विकास सम्भव छ ।
मानिसहरू पनि इमानदार छन्, अरूलाई रमाउन र खुशी पार्न सक्छन् । आज पनि धार्मिक मानिसहरूको कमी छैन । साना–साना कुरामा पनि खुशी हुने मानिस अझै नेपालमै छन् । त्यसैले हामीले देशमै केही गरेर खुशी हुने संस्कार बनाउनु पर्छ — विदेश होइन, आफ्नै माटोमा अवसर सिर्जना गर्नुपर्छ ।
शिक्षा, रोजगारी, कृषि, पर्यटन र प्रविधिमा ध्यान दिएर युवालाई देशमै राख्न सकियो भने नेपालले निकट भविष्यमा समृद्ध र सुशासनयुक्त राष्ट्रको रूपमा आफ्नो पहिचान विश्वभर स्थापना गर्न सक्छ । देशले आफ्नै लयमा काम गर्न सक्छ । दुराचारी, भ्रष्टाचारीको अन्त्य हुन सक्छ । शान्ति कायम भई नयाँ–नयाँ व्यवसाय सिर्जना गर्न सकिन्छ । यहाँका बालबालिका यहीँ रमाउन सक्छन् । तातो घाममा पोलिएर अकालमा मर्नु पर्दैन, रोग, भोक र सुखको कमीमा डुब्नुपर्दैन । आर्थिक विकास पनि हुन सक्छ । आफ्नै माटोमा फलेको अन्न खान, आफ्नै माटोमा लडिबुडी गर्न सकिन्छ ।