काठमाडौं ।चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण बीचमै अलपत्र पारेर भाग्न खोजेका कलाकार धुर्मुस अर्थात् सीताराम कट्टेल कानुनबाट उम्कन नसक्ने भएपछि उन्मुक्ति पाउन थरिथरिका अभिनय गर्न थालेका छन् ।उनले सिंहदरबार चहारेर हालको भ्रष्टाचारविरोधी भनिएको सुशिला कार्कीको सरकारबाट उन्मुक्ति पाउन अनेक अभिनय गर्न थालेका हुन् । तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री रेणु दाहाललाई स्थापित नेता बनाउन माओवादी र एमाले मिलेर नेकपाको सरकार बनाएका बेला तत्कालीन प्रधानमन्त्री केपी ओलीकै उपस्थितिमा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाले समझदारी गरेर रंगशाला निर्माण थालिएको थियो ।
सीताराम कटेल र सुन्तली उर्फ कुञ्जना घिमिरेले सन् २०१९मा क्रिकेट रंगशाला निर्माण गर्न भनी चन्दा उठाउन थालेका थिए । तर रंगशालामा काम सुरु भए पनि बीचैमा रोकियो । त्यसयता उनले सरकार र भरतपुर महानगरपालिकाले १८ करोड रुपैयाँ ऋण नतिरिदिएको बताउने गरेका छन् । अहिले आफ्नो स्वास्थ्य समेत बिग्रँदै गएको घुर्मुसले दाबी गर्न थालेका हुन् ।उनले उठाएको चन्दा दुरुपयोग गरेकोे आरोप लाग्दै आएको छ । त्यसरी स्वेच्छाचारी ढंगले चन्दा उठाएर रंगशाला निर्माण गर्न अनुमति दिनु नै नियमसंगत काम होइन । उनीहरूले उठाएको चन्दाको रकम उनका घर, माइती, मावली र आफन्त तथा निकटस्थ व्यापारीहरूको नाममा चल÷अचल सम्पत्ति बनाएर राखिएको हुनसक्ने भए पनि सरकारी निकायले ध्यान दिएको देखिँदैन ।
नाम कमाउने र दाम पनि कमाउने योजना बनाउँदा धुर्मुस दम्पतीलाई यो अवस्था आइरहेको हो । युनिटी इन्टरनेसनलले देश–विदेशका नागरिकलाई सदस्य बनाएर यसैगरी मनपरि तरिकाले सदस्यता शुल्क उठाएको थियो भने इच्छाराज तामाङले नेपाल राष्ट्र बैंकबाट अनुमति नै नलिई सिभिलको नाममा यसैगरी आफूखुसी निक्षेप संकलन गरेको थिए । उनीहरूलाई बिस्तारै कानुनी दायरामा ल्याइएको थियो । तर धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको नाममा उठाएको चन्दा अहिलेसम्म उनीहरूको ‘मुखै कानुन’बाट आएको छ । अहिले त्यसको हिसाबकिताब र यकिन विवरण खोज्न थालिएको छ । उनीहरू छटपटाएर त्यसबाट उम्कने उपाय खोज्दै रोईकराई सिंहदरबार धाउन थालेका छन् ।
रंगशाला निर्माणका लागि उधारोमा सामान किन्ने, दर भुक्तानी नदिने, चन्दा उठाएको रकमको पारदर्शीरूपमा विवरण नबुझाउने गर्न थालेपछि उनीहरूको नियतमाथि सबैतिरबाट शंका गर्न थालिएको थियो । त्यसपछि आर्थिक अभावको नाममा गैरजिम्मेवार पाराले रंगशाला निर्माणको काम बीचमै अलपत्र छाडेर धुर्मुस–सुन्तली बाहिरिएका थिए ।तर पछिल्लो समय कानुनले कस्ने देखिएको छ । उनीहरू सिंहदरबारलाई प्रभावमा पारेर त्यसबाट उम्कने जुक्ति निकाल्न दौडधुप गरिरहेका छन् । भरतपुरमा करिब २१ बिघा जमीनमा उक्त रंगशाला निर्माण थालिएको थियो । २०८३ पुस २२ गते काम सक्ने गरी भरतपुर महानगरपालिका र ठेकेदार हिमालयन कालिञ्चोक वीवीआर जेभीबीच सम्झौता भएको थियो । तर धुर्मुस सुन्तलीले चन्दा रकम पारदर्शीरूपमा नदेखाएर विवाद सुरु भएको थियो ।
सम्झौतामा उल्लेख भएअनुसार निर्माण कम्पनीले रंगशालामा मैदानसहित पाँचवटा पिच, तीन÷तीन तलाको दुईवटा टावर, १० हजार क्षमताको प्याराफिटसहित मैदानलगायतका निर्माण गर्नेछ । आयोजनाको सम्झौता लागत ७५ करोड ५० लाख ९१ हजार एक सय ८९ रुपैयाँ रहेको छ । धुर्मस–सुन्तली फाउन्डेसनले चन्दा संकलन गरी बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्णरूपमा काम रोकेको थियो ।