काठमाडौं,नेपाल आयल निगमले डिजेल÷मट्टीतेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले शनिबार मध्यरातिदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलको साबिकको बिक्री मूल्यमा मूल्य प्रतिलिटर तीन रुपैयाँ र पेट्रोलमा प्रतिलिटर दुई बढाएको हो । मूल्य समायोजनसँगै डिजेल÷मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६० रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६१ रुपैयाँ तोकेको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ ५४ पैसा र डिजेलमा छ रुपैयाँ ५३ पैसाले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।