काठमाडौं । बैंकहरूले मंसिर महिनाको लागि व्यक्तिगततर्फको निक्षेपको ब्याज झनै घटाएका छन् । कात्तिक महिनाको लागि व्यक्तिगत निक्षेपतर्फ औसतमा पाँच दशमलव दुई प्रतिशत ब्याजदर तोकेका बैंकहरूले मंसिर महिनाको लागि पाँच दशमलव शून्य चार प्रतिशत कायम गरेका हुन् ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्येमा ११ वटा बैंकहरूले मंसिर महिनाको लागि ब्याजदर घटाउँदा नौवटाले भने स्थिर राखेका छन् । सोमध्ये एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ«े बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, नेपाल बैंक र सिटिजन्सले बैंकले कात्तिक महिनाकै ब्याजलाई मंसिर महिनाको लागि पनि निरन्तरता दिएका छन् ।
यीबाहेकका कृषि विकास बैंक बैंक, एनआईसी एसिया बैंक, नबिल बैंक, हिमालयन बैंकसहितका ११ वटा बैंकहरूले कात्तिक महिनाको तुलनामा मंसिर महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।
राष्ट्र बैंकले तान्यो ५० अर्ब
नेपाल राष्ट्र बैंकले अधिक तरलता नियन्त्रणका लागि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिचेको छ । आइतबार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिचिएको हो ।
परिपक्व हुुने अवधि ८४ दिन तोकिएको यो उपकरणको साँवा–ब्याज भुक्तानी आगामी माघ २५ गते गरिनेछ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा यो उपकरण बिक्री गरिएको हो ।
खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्नसक्ने सीमा तोकिएको थियो । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरूमा धितोको रूपमा समेत राख्ने सकिने व्यवस्था रहेको राष्ट्र बैंकको भनाइ छ ।