काठमाडौं । वास्तविक बजारमा मूल्यवृद्धि उच्च रहे पनि राष्ट्र बैंकको तथ्यांकले भने साउन, भदौ र असोज महिनामा गत वर्षको तुलनामा घटेको देखाएको छ । राष्ट्र बैंकको आइतबार सार्वजनिक असोज मसान्तसम्मको प्रतिवेदनले मूल्यवृद्धि घटेको देखाएको हो ।
चालू आवको असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ४७ प्रतिशतमा सीमित रहेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति दुई दशमलव ५४ प्रतिशतले ऋणात्मक छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ८० प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः सात दशमलव २० प्रतिशत र तीन दशमलव ४९ प्रतिशत थियो ।
मुद्रास्फीति भनेको वस्तु तथा सेवाको मूल्य बढ्नु र पैसाको मूल्य घट्नु हो । यसको अर्थ थोरै वस्तु तथा सेवा खरिद गर्नको लागि पनि धेरै पैसा आवस्यक पर्नु हो । यस अर्थमा राष्ट्र बैंकको तथ्यांकले मुद्रास्फीति घटेको अर्थात् महंगी घटेको देखाए पनि बजारमा भने त्यस्तो अवस्था छैन । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३को प्रथम त्रैमासको औसत मुद्रास्फीति एक दशमलव ६७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव २६ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक सात दशमलव ७५ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको ती दशमलव ७१ प्रतिशत र माछा तथा मासुको तीन दशमलव १५ प्रतिशतले बढेको छ ।
तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५ दशमलव ६३ प्रतिशत, मरमसलाको सात दशमलव ८२ प्रतिशत र दाल तथा गेडागुडीको चार दशमलव ४१ प्रतिशतले घटेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५ दशमलव ५१ प्रतिशत, शिक्षाको सात दशमलव ६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव २९ प्रतिशत, सुर्तीजन्य पदार्थको चार दशमलव ८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको चार दशमलव ५५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक शून्य दशमलव तीन प्रतिशतले घटेको छ ।
चालू आवको असोज मसान्तसम्ममा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक एक दशमलव २९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक एक दशमलव ५३ प्रतिशतले बढेको छ । प्रदेशगतरूपमा समीक्षा महिनामा कोशी प्रदेशकोे वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ३३ प्रतिशत, मधेश प्रदेशको एक दशमलव २० प्रतिशत, बागमती प्रदेशको एक दशमलव १३ प्रतिशत, गण्डकी प्रदेशको एक दशमलव १६ प्रतिशत, लुम्बिनी प्रदेशको एक दशमलव ८९ प्रतिशत, कर्णाली प्रदेशको एक दशमलव ९१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको शून्य दशमलव ६९ प्रतिशत रहेको छ ।
यो अवधिमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ४३ प्रतिशत, तराईको एक दशमलव २९ प्रतिशत, पहाडको एक दशममलव ५० प्रतिशत र हिमालको दुई दशमलव ३३ प्रतिशत रहेको छ । २०८२ असोज महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति एक दशमलव ३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति पाँच दशमलव ५१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति एक दशमलव २४ प्रतिशत ऋणात्मक रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः दुई दशमलव ७१ प्रतिशत र दुई दशमलव ४० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य सूचकांक तीन दशमललव ८८ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।
२९ खर्ब ७९ अर्ब रुपैयाँ पुग्यो विदेशी मुद्रा सञ्चिति
विदेशी मुद्राको सञ्चिति बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११ दशमलव तीन प्रतिशतले बढेर २०८२ असोज मसान्तमा २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ असोज मसान्तमा आठ दशमलव सत प्रतिशतले बढेर २१ अर्ब २१ करोड पुगेको छ ।
राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १० दशमलव पाँच प्रतिशतले बढेर २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब चार करोड रहेकोमा २०८२ असोज मसान्तमा १८ दशमलव सात प्रतिशतले बढेर तीन खर्ब १२ अर्ब १० करोड कायम भएको छ । २०८२ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३को तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९ महिना नौ दिनको वस्तु आयात र १६ महिना चार दिनको लागि वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४८ दशमलव आठ प्रतिशत, एक सय ३६ दशमलव छ प्रतिशत र ३६ दशमलव आठ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३ दशमलव आठ प्रतिशत, एक सय २८ दशमलव एक प्रतिशत र ३४ दशमलव एक प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।
खुद सेवा आय ३२ अर्ब रुपैयाँले घाटामा
मुलुकको खुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको तीन महिना अर्थात् असोज मसान्तसम्मको प्रतिवेदनअनुसार खुद सेवा आय ३२ अर्ब ६८ करोड रुपैयाँले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब एक करोड रुपैयाँले घाटामा देखिएको थियो ।
प्रतिवेदनअनुसार सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय आठ दशमलव एक प्रतिशतले बढेर १९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६ दशमलव चार प्रतिशतले बढेर ६४ अर्ब ५९ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५५ अर्ब ४९ करोड रहेकोमा शिक्षातर्फको व्यय ३२ अर्ब २२ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
शोधनान्तर स्थिति दुई खर्ब ६४ अर्ब रुपैयाँले बचतमा
मुलुकको शोधनान्तर स्थिति बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा मुलुकको शोधनान्तर स्थिति दुई खर्ब ६४ अर्ब तीन करोड रुपैयाँले बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत अमेरिकी डलरमा एक अर्ब ३८ करोड रहेकोमा समीक्षा अवधिमा एक अर्ब ८८ करोड रहेको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालू खाता दुई खर्ब ३७ अर्ब ५९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता एक खर्ब १५ अर्ब ३६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा एक अर्ब ६९ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर पाँच अर्ब ५५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर दुई अर्ब रहेको थियो । यसैगरी, समीक्षा अवधिमा एक अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) चार अर्ब ८१ करोड रहेको राष्ट्र बैंकको भनाइ छ ।
तीन महिनामा भित्रियो पाँच खर्ब ५३ अर्ब रुपैयाँ रेमिट्यान्स
वैदेशिक रोजगारबाट प्राप्त हुने आय अर्थात् रेमिट्यान्स रकम बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको तीन महिना अर्थात् असोज मसान्तसम्मको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३को तीन महिनामा विप्रेषण आप्रवाह ३५ दशमलव चार प्रतिशतले बढेर पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव नौ प्रतिशतले बढेको थियो ।
प्र्रतिवेदनअनुसार २०८२ असोज महिनाको रेमिट्यान्स रकम.दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ४४ अर्ब १७ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९ दशमलव दुई प्रतिशतले बढेर तीन अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव छ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर रकम छ खर्ब १० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार खर्ब ४३ अर्ब ७६ करोड रहेको थियो ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख २३ हजार चार सय ५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार दुई सय ५७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख १० हजार छ सय ५४ र ५९ हजार नौ सय ३९ रहेको थियो ।