काठमाडौँ । त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न नेपाल प्रहरीले आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबारदेखि नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका खेल सुरु भएकाले खेलमैदानबाहिर भीडभाड नगर्न आग्रह गरेको हो ।
आजको खेलका सम्पूर्ण टिकटहरू बिक्री भइसकेको जानकारी दिदैं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले खेलमैदानबाहिर गएर अनावश्यक भीडभाड नगर्न आग्रह गरेका हुन् ।
खेलप्रेमीलाई प्रहरीले आफ्नो अनुकूल स्थानमा रहेर हेर्न, खेलस्थलको बाहिर भीड नगरिदिन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गरी नागरिक दायित्व निर्वाह गर्नसमेत अनुरोध गरेको छ ।