राजावादी गतिविधिमा सक्रिय व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं उपत्यकामा सुरक्षा निकायले सोमबार मध्यरात भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।
प्रसाईंलाई हिंसा भड्किन सक्ने गरी अराजक अभिव्यक्ति र गतिविधि गरेको आरोप छ। प्रहरी अनुसार केही दिनयता उनका अभिव्यक्ति र गतिविधिले सार्वजनिक सुरक्षामा चुनौती सिर्जना गर्न सक्ने आकलन भएपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो।
यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा रिहा भएका थिए। हाल उनी बैंक ऋण मिनाहा, राजकीय शासनसम्बन्धी मागसहित पुनः आन्दोलनको तयारीमा रहेका थिए। अनुसन्धानका लागि पक्राउ गरिएको र कानूनी प्रक्रियाअनुसार अगाडि बढाइने प्रहरीले जनाएको छ।